१७ अशोज २०८३, शनिबार
3 October 2026, Saturday

टेक्ससको बिग बेन्ड क्षेत्रमा ट्रम्पको सीमा पर्खाल बनाउन अदालतको रोक

टेक्ससको बिग बेन्ड क्षेत्रमा ट्रम्पको सीमा पर्खाल बनाउन अदालतको रोक

न्युयोर्क- अमेरिकाको टेक्ससस्थित एक संघीय अदालतले शुक्रबार ट्रम्प प्रशासनलाई बिग बेन्ड क्षेत्रमा सीमा पर्खाल र अन्य संरचना बनाउन अस्थायी रोक लगाएको छ। अदालतको यो निर्णयलाई त्यस क्षेत्रका जग्गाधनी, व्यापारी र वातावरणविद्हरूको ठूलो जित मानिएको छ। उनीहरूले ४६ अर्ब डलरको यो महँगो परियोजनाको कडा विरोध गर्दै आएका थिए।

ट्रम्प प्रशासनले दक्षिणी सीमामा ३० फिट अग्लो स्टिलको पर्खाल, सवारी साधन छेक्ने बार, सडक र निगरानी प्रविधि राख्ने योजना बनाएको थियो। तर, न्यायाधीश क्याथलीन कार्डोनले यो योजना रोक्ने आदेश दिँदै, पर्खाल निर्माण नरोके गम्भीर र अपूरणीय क्षति हुने बताइन्। भन्सार तथा सीमा सुरक्षा र आन्तरिक सुरक्षा विभागले भने यस विषयमा तुरुन्तै कुनै प्रतिक्रिया दिएका छैनन्।

पर्खालको विरोध गर्नेहरूले बिग बेन्ड क्षेत्र आफैंमा निकै दुर्गम र कठिन भूगोल भएकाले यसले नै अवैध आप्रवासन रोक्ने दाबी गरेका छन्। उनीहरूले प्रशासनले पर्खाल निर्माण छिटो सक्न थुप्रै नियमहरू मिचेको आरोप पनि लगाएका थिए। मुद्दा दायर गर्ने संस्था सेन्टर फर बायोलोजिकल डाइभर्सिटीका लेकेन जोर्डहलले अदालतको यो आदेशलाई ‘पूर्ण जित’ भने। अदालतको अन्तिम फैसला नआएसम्म डोजरहरू चल्न नपाउने उनले बताए। सेप्टेम्बरको मध्यतिर मात्रै प्रशासनले यस क्षेत्रमा पर्खालका पहिलो प्यानलहरू ठड्याएको थियो।

बिग बेन्ड क्षेत्रमा पर्खाल बनाउने योजनाको दुवै राजनीतिक दलले विरोध गरेका थिए। विशेषगरी सुन्दर दृश्य र पहाडहरू भएको राष्ट्रिय निकुञ्जभित्र पर्खाल बनाउने योजनाको धेरैले आलोचना गरेका थिए। अगस्टमा निकुञ्जभित्र जग्गा खाली गर्न डोजरहरू चलेपछि यसको व्यापक विरोध भएको थियो। त्यसपछि प्रशासनले काम रोके पनि सेप्टेम्बर ३० मा उक्त रोकको म्याद सकिएको थियो। तर अब न्यायाधीशको नयाँ आदेशले निकुञ्ज र त्यस वरपरका निजी जग्गाहरूमा समेत निर्माण कार्य पूर्ण रुपमा रोकिदिएको छ।