ग्रामीण अमेरिकी अस्पतालमा आप्रवासी कामदारको भूमिका
- १९ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- हेटिङ्गर, नर्थ डकोटास्थित वेस्ट रिभर अस्पतालमा आप्रवासी स्वास्थ्यकर्मीहरूको योगदान र ग्रामीण भेगको जीवनशैलीलाई समेटेर सीएनएनले तयार पारेको “३० डेज इन्साइड: हस्पिटल एन्ड द इमिग्रेन्ट वर्कफोर्स” नामक डकुमेन्ट्री हालै प्रसारण भएको छ।
करिब १,१०० जनसङ्ख्या भएको यस सानो सहरको अस्पतालमा १९ जना विदेशी कामदार कार्यरत छन्। विशेषगरी फिलिपिन्सबाट एच-वानबी (H-1B) भिसामा आएका यी कामदारहरूले दशकौँदेखि रिक्त रहेका पदहरू पूर्ति गरिरहेका छन्। डकुमेन्ट्रीमा फिलिपिन्सकी अल्ट्रासाउन्ड टेक्निसियन मारिचु क्यास्टिलो भिल्लामियलको कथा प्रस्तुत गरिएको छ, जो आफ्नो परिवार लिएर यस सानो सहरमा बसोबास गरिरहेकी छन्।
सीएनएनका एड लाभान्डेरा र उनको टोलीले अस्पतालमा एक महिना बिताएर ग्रामीण अमेरिकाले भोगिरहेको स्वास्थ्यकर्मी अभाव र त्यहाँ विदेशी जनशक्तिको महत्त्वलाई नजिकबाट देखाएका छन्। ग्रामीण भेगबाट युवाहरू सहरतिर बसाइँ सर्ने क्रम बढेसँगै अस्पतालहरूले विदेशी कामदारमा निर्भर हुनुपरेको यथार्थ डकुमेन्ट्रीले प्रस्तुत गरेको छ।
आप्रवासी कामदारहरूले हेटिङ्गरको समुदायमा आफूलाई स्वागत गरिएको महसुस गरेका छन् भने स्थानीय बासिन्दाले पनि उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गरेका छन्। ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कडा नीतिका कारण भिसा प्रक्रियामा देखिएको अनिश्चितताले भने अस्पताल प्रशासनलाई चिन्तित बनाएको विषय पनि यस रिपोर्टमा उठाइएको छ।