२५ अशोज २०८३, आइतवार
11 October 2026, Sunday

ट्रम्पको मेडिकेड कटौतीले शरणार्थी र कानुनी आप्रवासीको स्वास्थ्य बीमा खोसियो

ट्रम्पको मेडिकेड कटौतीले शरणार्थी र कानुनी आप्रवासीको स्वास्थ्य बीमा खोसियो

वासिङ्टन – नयाँ प्रतिबन्धका कारण शरणार्थी र मानव बेचबिखनका पीडितलगायत केही कानुनी आप्रवासीले अमेरिकामा मेडिकेड (स्वास्थ्य बीमा) सुविधा गुमाएका छन्। स्वास्थ्य बीमा कार्यक्रममा गरिएको यो परिवर्तनले लाखौँ मानिसलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्ने अनुमान छ।

अक्टोबर १ देखि लागू भएको यस नियमले अमेरिकामा कानुनी रूपमा बसोबास गर्ने, काम गर्ने र कर तिर्ने हजारौँ मानिसलाई मेडिकेडबाट हटाएको छ। आप्रवासीलाई लक्षित गर्ने ट्रम्प प्रशासनको यो पछिल्लो नीति हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२५ को कर कटौती तथा नीतिसम्बन्धी कानुनअन्तर्गत गरिएको यो परिवर्तनको ठूलो हिस्सा अर्को वर्षको सुरुदेखि लागू हुँदैछ। यसले करिब ७५ लाख मानिसलाई स्वास्थ्य बीमाविहीन बनाउने प्रक्षेपण कंग्रेसनल बजेट अफिसले गरेको छ।

नेसनल इमिग्रेसन ल सेन्टरका वरिष्ठ रणनीतिकार बेन डि’अवान्जोले यसले अमेरिकामा भएका सबै आप्रवासीलाई उनीहरूको यहाँ स्वागत छैन र देश छोड्नुपर्छ भन्ने सन्देश दिएको बताए। शरणार्थी, आश्रय खोज्नेहरू र घरेलु हिंसाका पीडितले बीमा गुमाए पनि ग्रीन कार्ड भएकाहरूलाई भने यसले असर गरेको छैन।

ह्वाइट हाउसका प्रवक्ता लरेन बिसले आप्रवासीहरू कडा परिश्रम गर्ने अमेरिकी करदाताको पैसाबाट चल्ने सुविधामा निर्भर नभई आफ्नै भरमा बाँच्न सक्नुपर्ने बताइन्।

मेडिकेड नभएपछि मानिसहरूले निजी बीमाको शुल्क तिर्न नसक्ने र उपचारमा ढिलाइ हुने अधिकारकर्मीहरूले बताएका छन्। यसको प्रत्यक्ष असर एरिजोना निवासी मारिया चाकोनजस्ता धेरैमा परेको छ। मानव बेचबिखनको सिकार भएर मेक्सिकोबाट अमेरिका आएको उनको परिवारले दुर्घटनामा परी गम्भीर घाइते भएका छोराको मासिक २५ हजार डलरको उपचार खर्च अब धान्न मुस्किल हुने बताएको छ।

समयमै डाक्टर नदेखाउँदा पछि अवस्था गम्भीर हुने, बिरामी सिधै आकस्मिक कक्षमा पुग्ने र अन्त्यमा राज्यलाई नै उपचार खर्च महँगो पर्ने युनिडोसयुएस नामक संस्थाकी उपाध्यक्ष कारमेन फेलिसियानोले बताइन्।