२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

क्यालिफोर्नियामा आप्रवासन अधिकारी र प्रदर्शनकारीबीच झडपपछि ट्रम्प प्रशासनको अधिकारी होमनको डेमोक्र्याट र मिडियामाथि आक्रोश

क्यालिफोर्नियामा आप्रवासन अधिकारी र प्रदर्शनकारीबीच झडपपछि ट्रम्प प्रशासनको अधिकारी होमनको डेमोक्र्याट र मिडियामाथि आक्रोश

वासिङ्टन- क्यालिफोर्नियामा आप्रवासन अधिकारी र प्रदर्शनकारीबीच भएको झडपपछि ट्रम्प प्रशासनका शिर्ष अधिकारी टम होमनले डेमोक्र्याट नेताहरू र मिडियामाथि झूटा प्रचार गरेको आरोप लगाएका छन्। होमनले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा बताएअनुसार, “अत्यधिक वामपन्थी भाषण र प्रचार” ले यस्ता घटनाहरूलाई बढावा दिएको हो र यस्तो स्थिति एक दिन “जीवन हानी” मा परिणत हुन सक्ने चेतावनी समेत दिए।

“मानिसहरूलाई विरोध गर्ने अधिकार छ,” होमनले एक कार्यक्रममा भने, “तर उनीहरूले हाम्रो काममा अवरोध गर्न पाउँदैनन्, त्यो अपराध हो। अझ त्यसमाथि कुनै अधिकारीलाई छोए भने त्यो थप गम्भीर अपराध हो।”

यो टिप्पणी बिहीबारको घटनापछि आएको हो, जब आप्रवासन अधिकारीहरूले अवैध आप्रवासीहरू प्रयोग गरिरहेको आशंका गरिएको दुईवटा गाँजा खेतीमा छापा मारेका थिए। त्यही क्रममा प्रदर्शनकारीहरू प्रहरीसँग भिडेपछि अधिकारीहरूले टियर ग्याँस र धुवाँ बम प्रयोग गरेका थिए।

घटनाक्रममा एक प्रदर्शनकारीले प्रहरीतर्फ गोली चलाएको आरोप लागेको छ र एफबीआईले उक्त व्यक्तिबारे सूचना दिनेहरूलाई ठूलो पुरस्कार दिने घोषणा गरेको छ।

टम होमनले आरोप लगाए कि केही डेमोक्र्याट नेताहरूले ICE लाई “नाजी, जातिवादी र आतंककारी” भन्दै तुलना गर्दै यस्तो व्यवहारलाई नै समर्थन गरिरहेका छन्।

यसबीच, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसेम र लस एञ्जलसकी मेयर करेन बास लगायतका नेताहरू ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध गर्दै आएका छन्। होमनले केही दिनअघि न्युसेम र बासलाई चेतावनी दिँदै आप्रवासन कानुनमा अवरोध नगर्न आग्रह गरेका थिए, जसको जवाफमा न्युसेमले सामाजिक सञ्जालमा लेखे, “क्यालिफोर्निया बाल श्रमिक तथा मानव तस्करविरुद्ध कारबाही गर्छ, तर ट्रम्प प्रशासन बालबालिकालाई टियर ग्याँस हान्छ र अभिभावकबाट छुट्याएर खेतबारी कामदारलाई निष्कासन गर्छ।”

न्युसेमको उक्त प्रतिक्रियाको सन्दर्भमा, CBP कमिश्नर रोड्नी स्कटले बताएअनुसार गाँजा खेतीमा छापा मार्दा १० जना बालबालिका फेला परेका थिए, जसमा ८ जना नाबालकहरू बिना अभिभावक अमेरिका प्रवेश गरेका थिए। यस घटनाले अब बाल श्रम कानुन उल्लङ्घनको अनुसन्धान पनि तानेको छ।

होमनले नेताहरूमाथि आरोप लगाउँदै भने, “हामीले बालबालिकाको उद्धार गरिरहेका छौं, जुन कुरा कुनैपनि दलको विषय होइन। तर दुर्भाग्यवश, आज त्यो पनि राजनीतिक विषय बनाइएको छ।”

उनले डेमोक्र्याटहरू र मिडियाले ट्रम्प र ICE का अधिकारीहरूको कामलाई तोडमोड गरी प्रस्तुत गरेको दावी गर्दै भने, “९० प्रतिशत समाचारहरू झूटा छन्। तिनीहरूले राष्ट्रपति ट्रम्पबारे झूट बोलिरहेका छन्। ICE का महिला र पुरुषहरूको समर्पणलाई पनि गलत रूपमा प्रस्तुत गरिरहेका छन्।”

हाल अमेरिकी आप्रवासन नीतिका कारण राजनीतिक तकरार चुलिएको बेला होमनले आग्रह गरे — “यदि कसैलाई आपत्ति छ भने कानुन बनाउने कंग्रेससँग गुनासो गर्नुपर्छ, न कि त्यसलाई कार्यान्वयन गरिरहेका अधिकारीसँग।”

“हामीले बनाएका होइनौं ती कानुनहरू। हामी त लागू मात्र गरिरहेका छौं,” होमनले थपे।

यस घटनाले अमेरिका भित्र आप्रवासन नीतिबारे चर्को बहस र राजनीतिक ध्रुवीकरणलाई थप उकासेको छ।