वाशिङ्टन डीसीमा डेलिभरी चालकहरूको पक्राउ, आप्रवासी समुदाय त्रसित
- ०३ भदौ २०८२
- १ मिनेटको पढाई
वाशिङ्टन- वाशिङ्टन डीसीमा पछिल्लो हप्ता डेलिभरी चालकहरूलाई पक्राउ गर्ने घटनाहरू बढेपछि आप्रवासी समुदायमा त्रास र अनिश्चितता फैलिएको छ।
शनिबार बिहान उबर इट्स मार्फत खाना अर्डर गरेका टायलर डेस्यूले आफ्नो डेलिभरी ड्राइभर “सिदी” प्रहरीद्वारा पक्राउ परेको दृश्य प्रत्यक्ष देखे। डेस्यूले खिचेको भिडियोमा एजेन्टहरूले ड्राइभरलाई आप्रवासन स्थिति बारे सोधपुछ गरिरहेका देखिन्छ। सिदीले अंग्रेजी राम्रोसँग नबुझ्ने भन्दै “अरबीमा भन्न सक्नुहुन्छ?” भने पनि तत्काल अनुवादक उपलब्ध गराइएन। अन्ततः उनलाई हत्कडी लगाएर अनामत गाडीमा लगियो।
यो घटना ट्रम्प प्रशासनले गत सातादेखि राजधानीमा कानुन कार्यान्वयनको जिम्मेवारी लिएको केही दिनमै भएको हो। त्यसयता, विभिन्न रेस्टुरेन्ट अगाडि वा सडकमा डेलिभरी चालक पक्राउ परेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
रेस्टुरेन्ट कर्मचारी क्लारिस्सा भास्क्वेजका अनुसार, सामान्यतया खाना लिन आउने चालकहरूको संख्यामा तीव्र गिरावट आएको छ। “अहिले त जम्मा ४% मात्र चालकहरू आउँछन्,” उनले भनिन्।
भास्क्वेजले गत हप्ता आफ्नै रेस्टुरेन्ट अगाडि जोसु मर्सेडेस फ्राङ्को सेरोस नामक होन्डुरान डेलिभरी चालक पक्राउ परेको दृश्य खिचेकी थिइन्। एक दिनपछि सेरोस भर्जिनियास्थित ICE को हिरासतमा रहेको पुष्टि भएको थियो।
उनकी साथी भेरोनिका गोंजालेज भन्छिन्, “उनी यहाँ कम्तीमा १० वर्षदेखि बस्दै आएका थिए। दिनमा डेलिभरी र राति रेस्टुरेन्टमा काम गर्थे। उनले यस्तै हुने कल्पना पनि गरेका थिएनन्।”
स्थानीय आप्रवासी अधिकार संस्था Amica Center का अधिकारी एटेन्स एस्ट्राडाले भने, “यी घटनाले कागजात भएको वा नभएको दुवै आप्रवासी समुदायमा व्यापक त्रास फैलाएको छ।”
यसैबीच, टायलर डेस्यूजस्ता ग्राहकहरूले पनि चालकहरूको सुरक्षाको चिन्ता गर्दै अस्थायी रूपमा उबर इट्स, डोरड्यासजस्ता डेलिभरी एप प्रयोग नगर्ने निर्णय लिएका छन्।