२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

एलिगेटर अल्काट्राज’ : डिटेन्सन सेन्टर तत्काल बन्द नहुने, तर विस्तार र नयाँ कैदी ल्याउन रोक

एलिगेटर अल्काट्राज’ : डिटेन्सन सेन्टर तत्काल बन्द नहुने, तर विस्तार र नयाँ कैदी ल्याउन रोक

मियामी — फ्लोरिडा एभरग्लेड्समा विवादित आप्रवासी डिटेन्सन सेन्टर “Alligator Alcatraz” तत्कालका लागि सञ्चालनमा रहन पाउने भए पनि अब यसमा नयाँ कैदी थप्न वा निर्माण विस्तार गर्न नपाइने भएको छ।

अमेरिकी जिल्ला न्यायाधीश क्याथलीन एम. विलियम्सले बिहीबार आदेश जारी गर्दै केन्द्रमा थप कैदी ल्याउन, औद्योगिक शैलीका बत्ती जडान गर्न वा अन्य निर्माण विस्तार गर्न प्रतिबन्ध लगाइन्।

उनको आदेशअनुसार ६० दिनभित्र जनसंख्या घटेपछि सुरक्षित रूपमा सम्भव हुनेबित्तिकै जनरेटर, फोहोर व्यवस्थापनका संरचना, अस्थायी बार र अतिरिक्त प्रकाश उपकरण हटाउनुपर्नेछ।

यो निर्णय National Environmental Policy Act उल्लंघनबारे दायर मुद्दामाथि आएको हो। पर्यावरण समूह र मिक्कोसुकी आदिवासी समुदायले एभरग्लेड्सको नाजुक पारिस्थितिक तन्त्रमा खतरा पुगेको भन्दै विरोध गरेका थिए।

पर्यावरण समूहहरूले यसलाई “फ्लोरिडाको जंगली जनावर र नाजुक प्रणालीका लागि ठूलो विजय” भन्दै स्वागत गरेका छन्।

मिक्कोसुकी आदिवासी अध्यक्ष टालबर्ट सायप्रसले भने, “यो हाम्रो पुर्ख्यौली भूमिको लडाइँ हो। सरकार कानुनी समीक्षा बिना यो परियोजना अघि बढाउन खोज्दैछ, हामी कुनै सम्झौता गर्दैनौं।”

गृह सुरक्षा विभाग (DHS) की प्रवक्ता ट्रिसिया म्याकलफलिनले भने अदालतको आदेशलाई “राजनीतिक निर्णय” भन्दै आलोचना गरिन्। उनले भनिन्, “राष्ट्रपति ट्रम्पले अपराधी र खतरनाक आप्रवासी हटाउन चाहनुभएको हो। यो कदम रोक्ने प्रयास मात्रै हो।”

डिटेन्सन सेन्टर गत जुलाईमा Big Cypress National Preserve भित्र पुरानो एयरस्ट्रिपमा खोलिएको हो।
यसमा ३,००० कैदी र १,२०० कार पार्किङ क्षमता बनाइएको छ।
पर्यावरण समूहले आवश्यक सार्वजनिक सूचना र कानुनी समीक्षाबिना निर्माण गरिएको दाबी गरेका छन्।

यो आदेश प्रारम्भिक निषेधाज्ञा मात्र भएकाले मुद्दा अन्तिम टुंगो लागेसम्म डिटेन्सन सेन्टर सीमित रूपमा मात्र सञ्चालन गर्न पाउनेछ।