रोचेस्टरमा आईसको धरपकडविरुद्ध प्रदर्शन, छतमा बसेर मजदुरको प्रतिरोध
- २८ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको रोचेस्टरमा मंगलबार आव्रजन एजेन्सीआईस (ICE) ले छापा मार्दा स्थानीय बासिन्दा, जनप्रतिनिधि र अधिकारकर्मीहरूले प्रतिरोध गरेका छन्।
साक्षीका अनुसार बिहानै छतमा काम गर्दै गरेका केही मजदुरलाई पक्राउ गर्न आईस अधिकारी पुगेका थिए। तर छिमेकीले खबर गरेर आव्रजन अधिकारकर्मी, धार्मिक अगुवा, राजनीतिज्ञ र दर्जनौँ प्रदर्शनकारी घटनास्थलमा पुगे।
मोरो काउन्टीकी सांसद “रेचल बर्नहर्ट”ले भने, “दुई जना मजदुर छतमा बसेका थिए, तल आईस एजेन्ट, अनि अगाडिको सडकमा सयौँको भिड। मानिसहरूले हातका संकेत गर्दै ‘मजबुत भएर बस्न’ भने। भीड पूर्ण रूपमा शान्तिपूर्ण थियो।”
आईसले “जासिन्तो मायान्सेला ग्वाल्पा”, एक इक्वेडोरियन आव्रजकलाई पक्राउ गरेको जनाएको छ। दुई जना भने छतमा बस्दै प्रतिरोध गरेका थिए। आईसले तिनीहरूसँग कानुनी स्टेटस नभएको पुष्टि भएको दाबी गरे पनि, अधिकारकर्मीहरूले घरधनीको अनुमति लिएर उनीहरूलाई खाना-पानी पुर्याए।
गृह सुरक्षा विभाग (DHS) का अनुसार भिडले अफिसियल गाडीका टायर काटेको र “हिंस्रक भीड” बनेको थियो। तर प्रदर्शनकारी र स्थानीय नेताहरूले यस दाबीलाई खारेज गर्दै भेला पूर्ण रूपमा शान्तिपूर्ण भएको बताए।
सांसद “जेन लन्सफोर्ड”का अनुसार पक्राउ परेका व्यक्ति २५ वर्षदेखि अमेरिका बस्दै आएका, परिवार भएको र वैध काम परमिटधारी मजदुर हुन्। उनले भनिन्, “जब नागरिक अधिकार मनपरी उल्लंघन हुन्छ, त्यो सबैका अधिकारमाथिको खतरा हो।”
यो घटना रोचेस्टरले हालै ‘स्यान्क्चुअरी सिटी’ नीति थप विस्तार गरेर शरणार्थी, आव्रजक तथा LGBTQ समुदायका लागि सुरक्षात्मक प्रावधान बढाएपछि भएको हो।