अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एच–१ बी भिसामा १ लाख डलर शुल्क तोक्ने घोषणा
- ०४ अशोज २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक घोषणा–पत्रमा हस्ताक्षर गर्दै एच–१बी (H-1B) भिसा लिन चाहने कम्पनीहरूले अबदेखि १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था गरेका छन्।
यस निर्णयलाई ट्रम्प प्रशासनले आप्रवासनमाथि कडाइ गर्ने अभियानको अर्को कदमका रूपमा लिएको छ। हालै प्रशासनले देशभर आप्रवासीमाथि छापामारी र ठूलो संख्यामा निर्वासनको तयारी तीव्र पारेको छ।
एच–१बी भिसा कार्यक्रम सन् १९९० मा तत्कालीन राष्ट्रपति जर्ज एच.डब्ल्य. बुसले कानूनी रूपमा स्वीकृत गरेका थिए। यसमार्फत दक्ष श्रमिकलाई अस्थायी रूपमा अमेरिकामा काम गर्ने अनुमति दिइन्छ। ठूला प्राविधिक कम्पनीहरूले यसै कार्यक्रममार्फत विदेशी दक्ष जनशक्ति भित्र्याउँदै आएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका तथ्याङ्कअनुसार अमेजनले मात्रै १० हजारभन्दा बढी स्वीकृति पाएको छ भने टाटा कन्सल्टेन्सी सर्भिसेसले ५,५०० भन्दा बढी, माइक्रोसफ्ट र मेटाले पनि ५,००० भन्दा बढी स्वीकृति लिएका छन्।
घोषणा–पत्रमा हस्ताक्षर गरेपछि ट्रम्पले प्राविधिक कम्पनीहरू परिवर्तनसँग खुशी हुने दाबी गरे। “मलाई लाग्छ, उनीहरू धेरै खुसी हुनेछन्। सबै खुसी हुनेछन्,” उनले भने।
तर, अमेरिकन इमिग्रेशन काउन्सिलका वरिष्ठ विश्लेषक आरोन राइकलिन–मेल्निकले यो कदमलाई “प्रायः अवैधानिक” बताउँदै अदालतले यसलाई अस्वीकार गर्ने सम्भावना रहेको टिप्पणी गरे। उनका अनुसार, “कांग्रेसले केवल आवेदनको प्रशोधन खर्च उठाउने उद्देश्यले शुल्क निर्धारण गर्न मात्र सरकारलाई अधिकार दिएको छ। भिसा प्रयोग सीमित गर्न बनाइने शुल्कको कुनै कानूनी आधार छैन।”
ब्लूमबर्ग लले ट्रम्पले शुक्रबार घोषणा–पत्रमा हस्ताक्षर गर्ने योजनाबारे पहिलोपटक रिपोर्ट गरेको हो।
कांग्रेसले प्रत्येक आर्थिक वर्षमा नयाँ ६५ हजार भिसाको वार्षिक सीमा तोकेको छ, साथै स्नातकोत्तर वा उच्चस्तरीय डिग्री हासिल गरेका लागि थप २० हजार कोटा छुट्याइएको छ। विश्वविद्यालय र अनुसन्धान संस्थाहरूका लागि भने अतिरिक्त छूट दिइएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि आर्थिक मन्दी र अमेरिकी रोजगारी जोगाउने भन्दै एच–१बी भिसा सीमित गर्ने नियम ल्याउने प्रयास गरेका थिए, तर संघीय अदालतले ती नियम अस्वीकार गरिदिएको थियो।
अहिलेसम्म ट्रम्पले यस कार्यक्रमको समर्थन गर्दै आएका छन्। पद सम्हाल्नु अघिल्लो डिसेम्बरमा उनले न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा भनेका थिए, “मेरो सम्पत्तिमा धेरै एच–१बी भिसाधारी काम गर्छन्। म यसको समर्थक हुँ। मैले यसलाई धेरैपटक प्रयोग गरेको छु। यो उत्कृष्ट कार्यक्रम हो।”