शिकागोमा आप्रवासन विरोधी प्रदर्शनमा अश्रुग्याँस प्रहार
- ०४ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानविरुद्ध शुक्रबार शिकागो नजिकै प्रदर्शन तीव्र भएपछि संघीय सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेका छन्।
एनबीसी ५ शिकागोका दृश्यअनुसार, ब्रडभ्युस्थित आप्रवासन तथा कस्टम्स एनफोर्समेन्ट कार्यालय अगाडि प्रदर्शनकारीले सवारी रोक्दा संघीय अधिकारीहरूले अश्रुग्याँस प्रयोग गरेका थिए। पत्रकार र स्थानीय नेताहरूले यसलाई अनावश्यक हिंसात्मक कदम भनेका छन्।
तर अमेरिकी गृह सुरक्षा विभागले प्रदर्शनकारीलाई “दंगा गर्नेहरू” ठहर गर्दै उनीहरूले कारको टायर काट्ने, ढुङ्गामुढा गर्ने र निजी सम्पत्तिमा अवैध प्रवेश गरेको आरोप लगाएको छ। कम्तीमा तीन जना पक्राउ परेका छन्।
यसअघि इलिनोइसमा भएको ICE कारबाहीमा एक आप्रवासीको मृत्यु भएपछि विवाद बढेको थियो। यता, ट्रम्प प्रशासनले “अपराधिक अवैध आप्रवासीलाई नियन्त्रण गर्ने” भन्दै राष्ट्रिय स्तरमा अभियान विस्तार गरेको जनाएको छ।