२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

आयोवाका पूर्व सुपरिन्टेन्डेन्टद्वारा नागरिकताको झुटो दाबी स्वीकार: जेल र देश निकालाको जोखिम

आयोवाका पूर्व सुपरिन्टेन्डेन्टद्वारा नागरिकताको झुटो दाबी स्वीकार: जेल र देश निकालाको जोखिम

न्युयोर्क- आयोवाको सबैभन्दा ठुलो स्कुल डिस्ट्रिक्टका पूर्व सुपरिन्टेन्डेन्ट इयान रोबर्ट्सले आफू अमेरिकी नागरिक भएको भनी झुटो दाबी गरेको र गैरकानुनी रूपमा हतियार राखेको अभियोग स्वीकार गर्ने भएका छन्। बिहीबार संघीय अदालतमा उनले यी दुई आरोपमा आफ्नो गल्ती स्वीकार गर्ने अपेक्षा गरिएको छ। दक्षिण अमेरिकाको गुयानाका मूल निवासी र पूर्व ओलम्पिक धावक रोबर्ट्सले ३० हजार विद्यार्थी भएको डेस मोइन्स पब्लिक स्कुलको नेतृत्व गरेका थिए।

नयाँ शैक्षिक सत्र सुरु भएको केही हप्तामै अध्यागमन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए। स्कुलले दिएको जिप लिएर हिँडिरहेका बेला रोबर्ट्सले भाग्ने प्रयास गरेका थिए, तर पछि उनलाई प्रहरीले जंगल नजिकै फेला पारेको थियो। उनको गाडीमा लोड गरिएको बन्दुक र ३ हजार डलर नगद भेटिएको थियो। रोबर्ट्सले सन् २०२३ मा जागिर खानका लागि भरेको फारममा आफू अमेरिकी नागरिक भएको झुटो विवरण भरेको स्वीकार गरेका छन्। यो अपराधका लागि उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ र जेल भुक्तान गरेपछि उनलाई अमेरिकाबाट डिपोर्ट (देश निकाला) गरिने सम्भावना छ।