६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आप्रवासन नीतिमा ट्रम्पलाई ठुलो झट्का, आफ्नै पार्टीभित्र असन्तुष्टि

आप्रवासन नीतिमा ट्रम्पलाई ठुलो झट्का, आफ्नै पार्टीभित्र असन्तुष्टि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सबैभन्दा बलियो पक्ष मानिने ‘आप्रवासन’ मुद्दामा नै उनलाई ठुलो धक्का लागेको छ। एनबीसी न्युजले गरेको नयाँ सर्वेक्षण अनुसार, हालै मिनियापोलिसमा संघीय एजेन्टहरूको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि ट्रम्पको आप्रवासन नीतिप्रतिको जनसमर्थन ह्वात्तै घटेको छ।

सर्वेक्षणका अनुसार, ट्रम्पको आप्रवासन र सीमा सुरक्षा नीतिलाई ४९ प्रतिशत जनताले ‘कडा अस्वीकार’ गरेका छन्। यो संख्या गत अप्रिलमा ३४ प्रतिशत मात्र थियो। खासगरी स्वतन्त्र मतदाताहरू ट्रम्पबाट टाढिँदै गएका छन्।

गत महिना मिनियापोलिसमा एलेक्स प्रीति र रेनी गुड नामका दुई व्यक्तिको गोली लागि मृत्यु भएपछि जनतामा आक्रोश बढेको छ। सर्वेक्षणमा सहभागी ६० प्रतिशतले ट्रम्पको यो घटनापछिको कदमलाई गलत भनेका छन्। अहिले ट्रम्पको समग्र लोकप्रियता घटेर ३९ प्रतिशतमा झरेको छ, जुन उनको कार्यकालकै नराम्रो मानिन्छ।

करिब ७५ प्रतिशत जनताले ‘आइस’ लाई सुधार गर्नुपर्ने वा खारेजै गर्नुपर्ने मत जाहेर गरेका छन्। ६३ प्रतिशतले एजेन्टहरूले मास्क लगाउनु गलत भएको बताएका छन्। त्यस्तै, ६२ प्रतिशत जनताले सरकारले गर्ने छानबिन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन्।

यो नतिजाले आगामी मध्यावधि निर्वाचन मा ट्रम्पलाई गाह्रो पर्ने संकेत गरेको छ। आफ्नै पार्टीका ‘परम्परागत रिपब्लिकन’ र ‘मागा’ समर्थकबिच पनि यो विषयमा मतभेद देखिएको छ।