२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बुबालाई ‘डिपोर्ट’ हुनबाट बचाएर सधैँका लागि बिदा भइन् १६ वर्षीया ओफेलिया

बुबालाई ‘डिपोर्ट’ हुनबाट बचाएर सधैँका लागि बिदा भइन् १६ वर्षीया ओफेलिया

सिकागो- अमेरिकाको सिकागोमा एक मर्मस्पर्शी घटना भएको छ। अध्यागमन अधिकारीहरूले पक्राउ गरेका आफ्ना बुबालाई देश निकाला हुनबाट बचाउन संघर्ष गरेकी १६ वर्षीया किशोरीको दुर्लभ क्यान्सरका कारण मृत्यु भएको छ।

ओफेलिया गिसेल टोरेस हिडाल्गो नामकी ती किशोरीको शुक्रबार निधन भएको हो। उनलाई ‘एल्भियोलर राब्डोमायोसारकोमा’ नामक चौथो चरणको दुर्लभ क्यान्सर भएको थियो।

ओफेलियाको मृत्यु हुनुभन्दा ठिक ३ दिनअघि मात्र सिकागोको अध्यागमन अदालतले उनका बुबा रुबेन टोरेस माल्डोनाडोको पक्षमा फैसला गरेको थियो। न्यायाधीशले अमेरिकी नागरिक रहेका छोराछोरीको विचल्ली हुने भन्दै रुबेनलाई देश निकाला गर्न नमिल्ने आदेश दिएका थिए। यो फैसलेसँगै उनका बुबाले अमेरिकाको स्थायी बासिन्दा (ग्रिन कार्ड) र पछि नागरिकता पाउने बाटो खुलेको छ।

बुबा रुबेनलाई गत अक्टोबर १८ मा ‘अपरेसन मिडवे ब्लिट्ज’ अन्तर्गत होम डिपोबाट पक्राउ गरिएको थियो। त्यतिबेला ओफेलियाको केमोथेरापी चलिरहेको थियो। बिरामी अवस्थामा ह्वीलचेयरमा बसेरै उनले बुबाको रिहाइका लागि आवाज उठाएकी थिइन्। उनले भिडियो सन्देशमा भनेकी थिइन्, “मेरो बुबा एकदमै मेहनती हुनुहुन्छ। यहाँ नजन्मिएकै कारण उहाँजस्ता आप्रवासीलाई तारो बनाउनु अन्याय हो।”

पेसाले पेन्टर रहेका रुबेन सन् २००३ मा अमेरिका छिरेका थिए। वकिल कालमन रेस्निकले ओफेलियालाई ‘नायिका’ को संज्ञा दिँदै उनले अन्तिम साससम्म सत्यका लागि लडेको बताए।