२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकाले फेरि पठायो तेस्रो देशका नागरिकलाई क्यामरुन, गोप्य सम्झौताको खुलासा

अमेरिकाले फेरि पठायो तेस्रो देशका नागरिकलाई क्यामरुन, गोप्य सम्झौताको खुलासा

न्युयोर्क – अमेरिकाले आफ्ना देशमा शरण नपाएका आप्रवासीलाई उनीहरूको आफ्नै देशको सट्टा तेस्रो मुलुक पठाउने क्रम जारी राखेको छ। ट्रम्प प्रशासनको यो गोप्य कार्यक्रमअन्तर्गत सोमबार थप आप्रवासीलाई क्यामरुन पठाइएको वकिलहरूले बताएका छन्।

वकिल अल्मा डेभिडका अनुसार सोमबार क्यामरुनको राजधानी याउन्डेमा अवतरण गरेको विमानमा क्यामरुनका नागरिक नभई अन्य देशका आप्रवासीहरू थिए। वकिल जोसेफ अवाह फ्रुका अनुसार विमानमा ८ जना तेस्रो देशका नागरिक भएको अनुमान गरिएको छ। यसअघि गत महिना पनि अमेरिकाले ९ जनालाई यसरी नै गोप्य रूपमा क्यामरुन पठाएको थियो। ती आप्रवासीहरू जिम्बाब्वे, मोरक्को र घानाका थिए।

यसरी पठाइएका धेरैजसो आप्रवासीलाई अमेरिकी अदालतले नै उनीहरूको देशमा फिर्ता पठाउन नहुने आदेश दिएको थियो। उनीहरूलाई स्वदेश फर्कंदा यातना वा मृत्युको खतरा हुन सक्ने भन्दै यस्तो सुरक्षा आदेश दिइएको थियो। तर, अमेरिकाले उनीहरूलाई सिधै घर नपठाई क्यामरुन जस्तो तेस्रो देशमा पठाएर कानुनी छिद्रको प्रयोग गरेको वकिलहरूको आरोप छ। वकिलहरूले यसलाई आप्रवासीको जीवनमाथिको खेलबाड भनेका छन्।

अमेरिकाले अफ्रिकी देशहरूलाई आप्रवासी जिम्मा लगाउन मोटो रकम तिरिरहेको खुलेको छ। ट्रम्प प्रशासनले क्यामरुन, दक्षिण सुडान, रुवाण्डा, युगान्डा र इस्वातिनी जस्ता देशसँग यस्तो सम्झौता गरेको छ। एक रिपोर्ट अनुसार अमेरिकाले करिब ३०० आप्रवासीलाई आफ्नो देश बाहेक अन्यत्र पठाउन ४ करोड डलरभन्दा बढी खर्च गरिसकेको छ। इस्वातिनीले मात्रै १६० जनालाई राख्न ५१ लाख डलर पाउने सम्झौता भएको छ।

अमेरिकी विदेश मन्त्रालयले भने ट्रम्प प्रशासनको अध्यागमन नीति लागु गर्नु आफ्नो उच्च प्राथमिकता भएको बताएको छ। मन्त्रालयले कानुनअनुसार नै अवैध आप्रवासीलाई हटाइएको दाबी गरेको छ। तर, मानव अधिकारवादीहरूले भने मानवाधिकारको रेकर्ड खराब भएका देशहरूमा आप्रवासीलाई पठाउँदा उनीहरू थप जोखिममा पर्ने चेतावनी दिएका छन्। इस्वातिनीमा पठाइएका कतिपय मानिसहरूलाई बिना अभियोग महिनौँदेखि जेलमा राखिएको पाइएको छ।