६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

५० भन्दा बढी आप्रवासीको मृत्यु प्रकरण: ग्वाटेमालाका व्यक्तिले गल्ती स्वीकारे

५० भन्दा बढी आप्रवासीको मृत्यु प्रकरण: ग्वाटेमालाका व्यक्तिले गल्ती स्वीकारे

न्युयोर्क- सन् २०२१ मा मेक्सिकोमा भएको ट्रक दुर्घटनामा ५० भन्दा बढी आप्रवासीको ज्यान गएको घटनामा ग्वाटेमालाका एक व्यक्तिले आफ्नो गल्ती स्वीकारेका छन्। अमेरिकाको टेक्सासस्थित अदालतमा बुधबार ४२ वर्षीय ड्यानियल जाभाला रामोसले मानव तस्करीमा आफ्नो संलग्नता रहेको बताए।

सन् २०२१ डिसेम्बर ९ मा आप्रवासीले खचाखच भरिएको ट्रक मेक्सिकोमा दुर्घटना हुँदा ५३ जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए। मृत्यु हुनेमा बालबालिका पनि थिए। रामोसले ग्वाटेमालाबाट आप्रवासीहरूलाई लुकाएर अमेरिका लैजाने योजना बनाएको अदालतमा स्वीकारे। यस अपराधमा उनलाई आजीवन कारावासको सजाय हुन सक्ने अमेरिकी न्याय विभागले जनाएको छ। उनको अन्तिम सजाय आगामी जुलाई ७ मा तोकिनेछ।

यो घटनामा आरोप लागेका छ जनामध्ये दोषी ठहरिने उनी पहिलो व्यक्ति हुन्। अन्य पाँच जनामाथि पनि मुद्दा चलिरहेको छ। रामोसलाई सन् २०२४ मा पक्राउ गरी २०२५ मा अमेरिका लगिएको थियो। तस्करहरूले पैसा लिएर मानिसहरूलाई पैदल, बस र ट्रकमा कोचेर अवैध रूपमा अमेरिका छिराउने गरेका थिए।