मेरिल्यान्डमा आप्रवासी राख्ने केन्द्र बनाउने ट्रम्प प्रशासनको काममा अदालतको रोक
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको मेरिल्यान्डमा रहेको एउटा ठूलो गोदामलाई आप्रवासी राख्ने केन्द्र बनाउने काममा त्यहाँको एक संघीय अदालतले रोक लगाएको छ। बुधबार अदालतले उक्त निर्माण कार्यलाई रोक्न दिएको आदेशको म्याद थप गरेको हो।
अमेरिकी आन्तरिक सुरक्षा विभागले हजारौँ आप्रवासीलाई थुनेर राख्ने उद्देश्यले देशभर ११ वटा गोदाम किनेको थियो। त्यसमध्ये १० करोड २४ लाख डलरमा किनिएको मेरिल्यान्डको यो गोदाममा ५ सयदेखि १५ सय जनासम्म आप्रवासी राख्ने योजना थियो।
तर, वातावरणीय प्रभावको अध्ययन नगरेको र सर्वसाधारणको राय नलिएको भन्दै मेरिल्यान्ड राज्य सरकारले अदालतमा मुद्दा हालेको थियो। गोदाम बाढीको जोखिम भएको ठाउँमा रहेको दाबी पनि मुद्दामा गरिएको छ। अदालतको यो निर्णयपछि अब मुद्दाको अन्तिम फैसला नआएसम्म गोदाममा तारबार लगाउने जस्ता सामान्य काम मात्र गर्न पाइनेछ।
यता, आन्तरिक सुरक्षा विभागले भने यो मुद्दा वातावरणको चिन्ताले नभई राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिका सुरक्षित बनाउनबाट रोक्ने प्रयास भएको दाबी गरेको छ। मेरिल्यान्डका अधिकारी र स्थानीय बासिन्दाले भने अदालतको आदेशलाई स्वागत गर्दै नियम मिचेर आफ्नो समुदायलाई जोखिममा पार्न नदिने बताएका छन्।