२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

काठमाडौँ- परराष्ट्र सेवाका पूर्वकर्मचारी राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा उक्त कृति विमोचन गरियो।

कार्यक्रमको सुरुमा अशेष मल्लको निर्देशनमा कृतिको एक अंशमा आधारित नाटकसमेत देखाइएको थियो। पुस्तकबारे बोल्दै लेखक गोपी मैनालीले यो कृति सरकारी सेवाका तीतामीठा अनुभवको इमानदार दस्ताबेज भएको बताए। सरल भाषामा लेखिएको यो पुस्तकले सरकारी सेवाभित्रका भोगाइ र विदेश बसाइका अप्ठ्याराहरूलाई समेटेको उनले उल्लेख गरे।

अर्का वक्ता युवराज मैनालीले पुस्तकको शैली रोमाञ्चक रहेको बताए भने प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल र पूर्वराजदूत मधुसूदन पौडेलले खत्रीलाई शुभकामना दिए। लेखक खत्रीले आफ्नो आधा जीवन सरकारी सेवामा बितेकाले पुस्तकमा पनि त्यही क्षेत्रका अनुभव धेरै समेटिएको बताए।

अध्यक्ष इल्या भट्टराईले सरल र जिम्मेवार स्वभावका खत्रीको यो पुस्तक निकै पठनीय रहेको टिप्पणी गरिन्। रामगीता वाङ्मय मन्दिरले प्रकाशन गरेको यो पुस्तकका लेखक खत्री हाल न्युयोर्कमा बस्छन्।