१८ असार २०८३, बिहिबार
2 July 2026, Thursday

सामाजिक सञ्जालको लत: अदालतमा बहस हुनुअघि नै टिकटकद्वारा किशोरसँग सम्झौता

सामाजिक सञ्जालको लत: अदालतमा बहस हुनुअघि नै टिकटकद्वारा किशोरसँग सम्झौता

न्युयोर्क- सामाजिक सञ्जालको लतका कारण आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको भन्दै मुद्दा हालेका फ्लोरिडाका १५ वर्षीय एक किशोरसँग टिकटकले सम्झौता गरेको छ। आगामी जुलाई २७ देखि लस एन्जलसको अदालतमा यस विषयमा बहस सुरु हुनुअघि नै टिकटकले ती किशोरसँग सहमति गरेको हो।

ती किशोरले टिकटकसहित मेटा, युट्युब र स्न्यापच्याटले आफ्ना एपहरू जानाजानी लत बस्ने गरी बुनेको आरोप लगाएका थिए। एपमा हुने अनन्त स्क्रोल र आफैँ भिडियो चल्ने (अटोप्ले) जस्ता सुविधाहरूले गर्दा बालबालिका यसको चक्रव्यूहमा फस्ने गरेको दाबी मुद्दामा गरिएको छ। टिकटक भन्दा अगाडि गत हप्ता युट्युबले पनि ती किशोरसँग सम्झौता गरिसकेको छ। अब मेटा र स्न्यापले मात्र अदालतमा यो मुद्दाको सामना गर्नुपर्नेछ।

८ वर्षको उमेरदेखि नै सामाजिक सञ्जाल चलाउन थालेका ती किशोरमा अत्यधिक तनाव र डिप्रेसनको समस्या देखिएपछि सन् २०२३ देखि उनको उपचार भइरहेको छ। सामाजिक सञ्जालका कारण युवाहरूको मानसिक स्वास्थ्य बिग्रेको भन्दै अहिले हजारौँ परिवारले यस्ता प्रविधि कम्पनीहरूविरुद्ध उजुरी दिएका छन्। यसअघि मार्च महिनामा भएको पहिलो मुख्य फैसलामा अदालतले मेटा र युट्युबलाई दोषी ठहर गर्दै एक पीडित युवतीलाई ६० लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको थाहा भएको छ।