७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

एफ–१६ लडाकु विमानको पहिलो खेप पुग्यो युक्रेन

एफ–१६ लडाकु विमानको पहिलो खेप पुग्यो युक्रेन

बहुप्रतीक्षित एफ–१६ लडाकु विमानको पहिलो खेप युक्रेन पुगेको छ। लिथुवानियाका विदेशमन्त्री र अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका हुन्।

अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको सो विमान प्राप्त गर्न युक्रेनले धेरै पहिलेदेखि कोसिस गर्दै आएको थियो। यसले उसको हवाई प्रतिरक्षा र रुसमाथि आक्रमण गर्ने क्षमता उकास्ने युक्रेनको भनाइ छ।

त्यसका लागि लामो समयदेखि युक्रेनी पाइलटहरूलाई तालिम दिइएको थियो। सो विमानले २० एमएमको गोला दाग्ने तोपका साथ क्षेप्यास्त्र, रकेट र बम बोक्न सक्छ।

‘एफ–१६ युक्रेन पुगेको छ। अर्को एउटा असम्भव काम पूरै सम्भव भएको छ,’ लिथुवानियाका विदेशमन्त्री ग्याब्रिलिअस ल्यान्ड्सबर्जिसले भनेका छन्। नेटो मुलुकहरूले ६१ वटा एफ–१६ युक्रेनलाई दिने वाचा गरेका छन्। अहिले कतिवटा विमान युक्रेन पुगेको हो, स्पष्ट छैन।

तर, यी विमान युक्रेन आउनेबित्तिकै केहीलाई खसाएर मनोवैज्ञानिक रूपले युद्धमा हाबी हुने दाउमा रुस भएको बताइएको छ।