२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

अफगानिस्तान भूकम्पमा मृत्यु १,४०० नाघ्यो

अफगानिस्तान भूकम्पमा मृत्यु १,४०० नाघ्यो

न्युयोर्क- अफगानिस्तानमा आइतबार राति आएको ६.०–म्याग्निच्युडको भूकम्पमा मृत्यु संख्या १,४११ पुगेको छ भने ३,१२४ भन्दा बढी घाइते भएको तालिबानले जनाएको छ। करिब ५,४०० घर ध्वस्त भएका छन्।

पूर्वी कुनार प्रान्तमा बढी क्षति भएको र धेरै मानिसहरू माटो–इँटा र काठका घरमुनि थुनिएको तालिबान अधिकारीहरूले बताएका छन्। भूकम्पको समयमा अधिकांश मानिस निद्रामा रहेकाले मृत्यु संख्या बढेको हो।

सहायता टोलीले अवरुद्ध सडक र पहिरोका कारण प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन्। केही स्थानमा पैदल र हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ। संयुक्त राष्ट्रसंघले १२,००० मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गर्दै मृतक संख्या अझ बढ्न सक्ने चेतावनी दिएको छ।

तालिबानले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ, तर शासन मान्यता नपाएकाले सहायता व्यवस्थापन जटिल भएको छ। चीन र बेलायतले सहयोग घोषणा गरेका छन् भने अमेरिका भने हालसम्म मौन छ।

यसअघि २०२२ र २०२३ मा पनि ठूला भूकम्पमा करिब ५,००० मानिसको ज्यान गइसकेको थियो। निरन्तर द्वन्द्व, खाद्य संकट र प्राकृतिक विपत्तिले अफगानिस्तान झन् कमजोर बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।