कतारमा इजरायली आक्रमणबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बुधबार बस्ने
- २५ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधबार आपत्कालीन सत्र बोलाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका कूटनीतिक स्रोतका अनुसार परिषद्का सदस्यहरूले महासचिवालयका वरिष्ठ अधिकारीहरूबाट पछिल्ला घटनाक्रम र बढ्दो तनावबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ ।
महासचिव एन्टोनियो गुटेरेसले कतारमा भएको आक्रमणलाई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको ‘स्पष्ट उल्लङ्घन’ भन्दै निन्दा गरे । उनले गाजामा युद्धविराम सम्भव बनाउन र बन्धकहरूको रिहाइ सहज गर्न कतारले खेलेको ‘धेरै सकारात्मक भूमिका’ को प्रशंसा पनि गरे । गुटेरेसले सबै पक्षलाई ‘गाजामा स्थायी युद्धविराम हासिल गर्नमा ध्यान दिनुपर्छ, यसलाई नष्ट गर्न होइन’ भन्नेमा जोड दिए।
कतारको गृह मन्त्रालयले मङ्गलबार आन्तरिक सुरक्षा बल (लेखविया) का एक सदस्य, हमासका राजनीतिक ब्युरो प्रमुख खलील अल–हयाका छोरा हुमाम खलील अल–हय्यासहित तीन जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै, धेरै सर्वसाधारण घाइते भएको पनि रिपोर्ट गरिएको छ ।