२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

लन्डनमा चरम दक्षिणपन्थी र्‍याली, चार्ली कर्कलाई श्रद्धाञ्जली

लन्डनमा चरम दक्षिणपन्थी र्‍याली, चार्ली कर्कलाई श्रद्धाञ्जली

लन्डन— बेलायतको राजधानी लन्डनमा शनिबार हालसम्मकै ठूलो दक्षिणपन्थी र्‍याली निकालिएकाे छ। “युनाइट द किङ्डम” नामक र्‍यालीमा १ लाखभन्दा बढी मानिस सहभागी भएका अधिकारीहरूले जनाएका छन्।

दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनको आयोजनामा भएको र्‍यालीमा उद्यमी एलन मस्कले भिडियोमार्फत सम्बोधन गरेका थिए। उनीहरूले “अतिरिक्त आप्रवासन नियन्त्रण” र “फ्रि स्पिच” को पक्षमा आवाज उठाएका थिए।

र्‍यालीका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २६ जना प्रहरी घाइते भएको र २५ जनालाई पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरूले बोतल, फ्लेयर र अन्य वस्तु फ्याँक्दै प्रहरीलाई आक्रमण गरेको र सुरक्षा घेराभित्र पस्न खोज्दा हिंसात्मक घटना भएको बताइएको छ।

र्‍यालीमा सहभागिता अपेक्षाभन्दा निकै बढी भएको प्रहरीले जनाएको छ। आयोजकले करिब ५० हजारको अनुमान गरे पनि वास्तविक संख्याले १ लाख १० हजारदेखि १ लाख ५० हजारसम्म पुगेको अनुमान गरिएको छ।

यो र्‍याली अमेरिकन रुढीवादी कार्यकर्ता चार्ली कर्कको हत्या प्रकरणसँगै गरिएको हो। कर्कलाई गत साता युटाहको एक विश्वविद्यालयमा गोली हानी हत्या गरिएको थियो। उनको सम्झनामा शुक्रबार लन्डनमा पनि श्रद्धाञ्जली सभासमेत गरिएको थियो।

र्‍यालीमा एलन मस्कले बेलायतमा सरकार परिवर्तन आवश्यक भएको दाबी गर्दै “यदि यो क्रम जारी रह्यो भने हिंसा अनिवार्य हुनेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई बेलायतका विपक्षी नेताहरूले खतरनाक र गैरजिम्मेवार ठहर गर्दै निन्दा गरेका छन्।

समानान्तर रुपमा, स्ट्यान्ड अप टु रेसिज्म समूहको नेतृत्वमा सयौं मानिसले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले “शरणार्थीहरूलाई स्वागत छ” भन्ने नारासहित र्‍यालीको विरोध गरेका थिए।

हालैको सर्वेक्षणमा नाइजेल फराज नेतृत्वको दक्षिणपन्थी पार्टी रिफर्म यूके लोकप्रियतामा अगाडि देखिएको छ। आप्रवासन नियन्त्रण र राष्ट्रवादलाई मुद्दा बनाएर पार्टीले आमचुनावी तयारी गरिरहेको छ।