२६ जेष्ठ २०८३, मङ्लबार
9 June 2026, Tuesday

इजरायलमा बन्धकका परिवारको आरोप : नेतन्याहू होस्टेज फिर्तीमा मुख्य बाधक

इजरायलमा बन्धकका परिवारको आरोप : नेतन्याहू होस्टेज फिर्तीमा मुख्य बाधक

न्युयोर्क- इजरायली बन्धकहरूको परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई होस्टेजहरूको रिहाइ र शान्ति सम्झौतामा पुग्नबाट रोक्ने प्रमुख अवरोध भनेका छन्।

बन्धक तथा बेपत्ता परिवारहरूको फोरमले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, कतारमा हमास नेतामाथि इजरायलले हालै गरेको आक्रमणले हरेकपटक सम्झौतामा पुग्नुअघि नै नेतन्याहूले प्रक्रिया बिगार्ने गरेको आरोप लगाएका छन्। गत मंगलबार दोहामा भएको आक्रमणमा हमासका पाँच सदस्य र एक कतारी सुरक्षा अधिकारीको मृत्यु भएको थियो।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल पुगेका छन् र नेतन्याहूसँग भेट गर्ने तालिका रहेको छ। आक्रमणपछि इजरायलमाथि अन्तर्राष्ट्रिय आलोचना बढेको छ।

नेतन्याहूले भने कतारमा रहेका हमास नेताहरूलाई समाप्त गर्नु नै होस्टेज फिर्ती र युद्ध अन्त्यको मार्ग खुलाउने उपाय भएको दाबी गरेका छन्। तर, बन्धक परिवारहरूले यो भनाइलाई आफ्ना प्रियजनहरूको मुक्तिमा असफल भएको ढाकछोप गर्ने बहाना भनेका छन्। उनीहरूको भनाइमा, नेतन्याहूको कारण अहिलेसम्म ४२ जना होस्टेजको मृत्यु भइसकेको छ भने बाँकीको जीवन पनि संकटमा छ।

यसैबीच, इजरायली सेनाले गाजा सहरमा हवाई आक्रमण तीव्र पारेको छ, जसले ठूला भवन र आवासीय क्षेत्रहरू भग्नावशेषमा परिणत भएका छन्। इजरायलले सम्भावित स्थलगत आक्रमणका लागि स्थानीयलाई तत्काल विस्थापित हुन चेतावनी दिएको छ। तर, बासिन्दाहरूले बमबारीभन्दा केही क्षणमात्र अघि सूचना दिने, साथै विद्यालय र अस्थायी आश्रयस्थललाई समेत लक्ष्य बनाएको आरोप लगाएका छन्।

संयुक्त राष्ट्र संघले गाजामा भोकमरी घोषणा भइसकेको अवस्थामा सैन्य आक्रमण विस्तारले नागरिकलाई अझै गम्भीर मानवीय संकटमा पुर्याउने चेतावनी दिएको छ।