पेरुमा सरकारविरोधी प्रदर्शन : लिमा सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप
- ०५ अशोज २०८२
- १ मिनेटको पढाई
लिमा- पेरुको राजधानी लिमा सहरमा शनिबार भएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
‘जेनेरेसन जेड’ नामक युवासमूहले आयोजना गरेको विरोध कार्यक्रम हाल देशभर बढ्दो संगठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र हालै पारित पेन्सन सुधार कानुनविरुद्ध गरिएको हो।
करीब पाँच सय प्रदर्शनकारी लिमा सहरको केन्द्रमा भेला भएर शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन कार्यपालिका र संसद भवनतर्फ अगाडि बढ्ने प्रयाससँगै तनावग्रस्त बन्यो। प्रदर्शनकारीले ढुङ्गा र लठ्ठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रणमा लिएको थियो।
प्रदर्शनमा सहभागी ५४ वर्षीया ग्लाडिसले “पहिलाभन्दा अहिले देशमा लोकतन्त्र कमजोर हुँदै गएको छ” भनेकी छन्। त्यस्तै, युवा सहभागी सेलेन अमासिफुएनले “संसदप्रति जनताको विश्वास नै बाँकी छैन, संसदले अव्यवस्था मात्र बढाएको छ” भने।
स्थानीय रेडियो एक्सितोसाका अनुसार, झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान समेत घाइते भएका छन्। प्रहरी प्रशासनका अनुसार, कम्तीमा तीन सुरक्षाकर्मी पनि घाइते भएका छन्।
राष्ट्रपति डिना बोलुआर्टेको लोकप्रियता लगातार घट्दै गएको अवस्थामा बढ्दो अपराध र भ्रष्टाचारले जनतामा असन्तोष थपिएको देखिन्छ। हालै संसदले पारित गरेको नयाँ कानुनअनुसार युवाहरूलाई निजी पेन्सन कोषमा अनिवार्य आबद्ध गरिनुपर्ने व्यवस्था गरिएको छ, तर अस्थिर रोजगारीको अवस्थाबीच यसलाई अन्यायपूर्ण भन्दै व्यापक आलोचना भइरहेको छ।