२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

फिलिपिन्समा भ्रष्टाचारविरुद्ध प्रदर्शन : हजारौं प्रदर्शनकारी सडकमा

फिलिपिन्समा भ्रष्टाचारविरुद्ध प्रदर्शन : हजारौं प्रदर्शनकारी सडकमा

मनिला- सांसद, अधिकारी र व्यवसायी संलग्न बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणको विरोधमा हजारौँ प्रदर्शनकारी फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन्।

हिंसा रोक्न प्रहरी र सेना सतर्क राखिएका थिए। ऐतिहासिक मनिला पार्क र इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि हजारौँ सुरक्षा कर्मी तैनाथ गरिएको थियो। प्रदर्शनकारीहरूले झण्डा बोकेर ब्यानरमा “अब छैन, धेरै, तिनीहरूलाई जेलमा हाल” जस्ता नारासहित दोषीलाई तुरुन्त कारबाही गर्न माग गरेका थिए।

विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले भने, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट लक्जरी कार र विदेश यात्रामा खर्च गर्छन्। यस्तो प्रणाली अन्त्य गर्नुपर्छ।”

फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण विरोधको आग्रह गर्दै भने, “हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउनु हो।”

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भ्रष्ट सांसद, अधिकारी र ठेकेदारमाथि मात्र कारबाही गर्ने बताउँदै आयोग गठन गरेका थिए। सन् २०२२ देखि सुरु भएका ९,८५५ बाढी नियन्त्रण परियोजनामा करिब ५ खर्ब ४५ अर्ब पेसो (९ अर्ब ५० करोड डलर) बराबरको अनियमितता फेला परेको थियो।

मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाका लक्जरी कार प्रदर्शनपछि जनआक्रोश चर्किएको थियो। अनुसन्धानले देखाएको छ कि दम्पतीले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन किकब्याक तिर्न बाध्य पारेका थिए।

यस प्रकरणमा सांसदहरू सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन्। कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ। दोषीहरूले आपराधिक मुद्दा सामना गर्नेछन् र सम्पत्ति, घर, कार तथा बैंक खाता फ्रिज गरिने जनाइएको छ।