रूसमा विषाक्त मदिरा सेवनबाट १९ जनाको मृत्यु
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रअन्तर्गत स्लान्त्सी जिल्लामा विषाक्त मदिरा सेवनका कारण यस महिनाभरि कम्तीमा १९ जनाले ज्यान गुमाएका छन।
क्षेत्रीय सरकारको विज्ञप्तिअनुसार, मृतकमध्ये आठ जनाको मृत्यु प्रयोगशालाले पुष्टि गरेको मिथेनोल विषाक्तताका कारण भएको हो। घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिला पक्राउ परेका छन। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
रूसमा सस्तो मूल्यमा पाइने घरेलु वा अस्वीकृत मदिरा सेवनका कारण यस्ता घटनाहरू दोहोरिनु सामान्य बनेको छ। विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर क्षेत्रका मानिस कानुनी मदिरा किन्न नसक्दा विकल्पको रूपमा अवैध पदार्थ सेवन गर्न बाध्य हुने गरेका छन।
यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढीको ज्यान गएको थियो।
सरकारले सम्बन्धित कानुन कडा पारे पनि विषाक्त र अवैध मदिराको पहुँच अझै नियन्त्रणमा आउन नसकेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ।