टोकियोमा उपभोक्ता मूल्य सूचकाङ्क २.५ प्रतिशतले बढ्यो
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
टोकियो – जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क चालू अगस्त महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ।
सन् २०२० लाई आधार वर्ष मानेर तयार पारिएको सूचकाङ्क १०० मा रहँदा यसपटक ११०.० पुगेको छ। मन्त्रालयका अनुसार यो वृद्धि दर अघिल्लो अगस्त महिनासँग समान छ।
खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ। ताजा वस्तु बाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य ६.९ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफी दानाको मूल्य ४७.८ प्रतिशतले बढेको देखिएको छ।
तर यो वृद्धि केही मात्रामा सन्तुलनमा पार्ने गरी टोकियो महानगरपालिकाले सेप्टेम्बर १७ देखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ।
टोकियोको मूल्य सूचकाङ्कलाई देशभरको महँगी प्रवृत्ति देखाउने प्रमुख सूचकको रूपमा लिइन्छ। सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ मा सार्वजनिक गरिने कार्यक्रम रहेको छ।