तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
नयाँदिल्ली- भारतको तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मृतकमध्ये आठ जना बालबालिका रहेको स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले जानकारी दिएका छन् ।
करुर जिल्लामा आयोजित र्यालीमा विजय ढिलो आइपुग्दा भीड बेकाबु बनेको र अनुशासनको कमीका कारण भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन् । धेरै समर्थक बेहोस भएपछि विजयले भाषण रोक्न बाध्य भएका थिए ।
विजयले सामाजिक सञ्जालमार्फत घटना “हृदयविदारक” भएको भन्दै शोक प्रकट गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।
विश्लेषकहरूका अनुसार तमिलनाडुमा सेलिब्रिटीहरूको राजनीतिक प्रभाव बलियो छ । विजयले २०२४ मा अभिनयबाट अवकाश लिएर राजनीतिक यात्रा सुरु गरेका थिए ।
यसअघि पनि भारतमा ठूलो भीड व्यवस्थापन नहुँदा यस्तै दुर्घटना भएका थिए । पछिल्लो घटनाले सार्वजनिक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।