२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको मृत्यु, सयौँ घाइते

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको मृत्यु, सयौँ घाइते

फिलिपिन्स- मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्नुपरेको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार मङ्गलबार साँझ ९:५९ बजे (१३:५९ GMT) सेबु प्रान्तको बोगो नजिक केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि लगातार सयौँ परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएका र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि भएको छ। स्थानीय उद्धारकर्ता अनुसार अस्पताल भरिएपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरमा सार्नुपरेको छ।

भूकम्पले ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुर्‍याएको छ। बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए। स्थानीय टेलिभिजनमा पुल हल्लिँदा मोटरसाइकल यात्रीहरूले रेलिङ समातेर ज्यान जोगाएको दृश्य देखाइएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन्। सुरुमा USGSले ७.० म्याग्निच्युड भएको जनाएको भए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो। प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

सेबु प्रान्तीय सरकारले उद्धारमा चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ। प्रान्तीय उद्धार अधिकारीका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा कठिनाइ थपिएको छ।