सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु ; राष्ट्रसंघ
- १६ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सन् २०२२ को सुरुदेखि हाइटीमा सशस्त्र हिंसामा १६ हजारभन्दा बढी मारिएका र ७ हजार घाइते भएको संयुक्त राष्ट्रले जनाएको छ । मानव अधिकार प्रमुख भोल्कर टर्कका अनुसार मार्चदेखि हिंसा तीव्र भएको हो ।
राजनीतिक अस्थिरताले ग्रस्त हाइटी हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने गिरोहको हिंसाबाट पीडित रहँदै आएको छ । गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सबाहिर समेत आतंक फैलाउँदै व्यापक क्षेत्र अस्थिर बनाउने खतरा बढाएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले हाइटीमा नयाँ सुरक्षा फोर्स पठाउने निर्णय गरेको छ, जसमा अधिकतम ५,५०० प्रहरी र सैनिक रहनेछन् ।
गत मार्चदेखि सरकारले गिरोहविरुद्ध ड्रोन आक्रमण बढाएको छ । सेप्टेम्बरसम्म ५५९ जनाको मृत्यु भएको छ, जसमा ११ बालबालिका पनि छन् । यी आक्रमणहरू अन्तर्राष्ट्रिय कानुन विपरीत भएको टर्कले बताएका छन् ।
बालबालिकाहरू तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
“हामी हाइटीका जनताको अवस्था परिवर्तन गर्न सक्छौं र गर्नुपर्छ,” टर्कले भने ।