मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र
- १७ अशोज २०८२
- १ मिनेटको पढाई
रबात- मोरक्कोका विभिन्न सहरमा युवाहरूको नेतृत्वमा सरकारविरोधी आन्दोलन तीव्र बनेको छ । बिहीबार साँझ राजधानी रबातदेखि कासाब्लान्का लगायत कम्तीमा एक दर्जन सहरमा ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिए ।
गत रात सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएपछि आन्दोलन अझ चर्किएको हो । प्रदर्शनकारीहरूले गुणस्तरीय विद्यालय र अस्पतालको माग गर्दै प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् ।
बुधबार केही ठाउँमा बैंक लुटपाट, गाडी जलाउने र सम्पत्ति नष्ट गर्ने घटनापछि प्रहरीले गोली चलाएको थियो । गृह मन्त्रालयका अनुसार ३५४ जना घाइते भएका छन् भने सयौँ सरकारी तथा निजी सम्पत्ति क्षतिग्रस्त भएका छन् ।
आन्दोलन ‘जनरेशन जेड २१२’ नामक नेतृत्वविहीन समूहले अघि बढाएको हो । उनीहरूले सरकार विश्वकपमा अर्बौँ खर्च गर्नुभन्दा स्वास्थ्य र शिक्षा सुधारमा लगानी गर्नुपर्ने माग गरेका छन् ।
स्टेडियम तयार छन्, तर अस्पताल कहाँ छन् ? र ‘हामीलाई विश्वकप होइन, स्वास्थ्य सेवा चाहिन्छ’ भन्ने नारा आन्दोलनमा लोकप्रिय बनेका छन् ।
देशभर एक हजारभन्दा बढी पक्राउ परेका छन्, जसमा धेरै नाबालिग रहेको मानव अधिकार संस्थाहरूले जनाएका छन् ।
विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्करमा हालै देखिएका युवानिर्देशित आन्दोलनसँग तुलना गरेका छन् ।