सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु : राष्ट्र सङ्घ
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सन् २०१४ देखि भूमध्यसागरमा ३२,७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले आप्रवासी र शरणार्थीहरूको यात्रा जोखिमपूर्ण भएको बताउँदै, मृत्यु हुनेहरूको सम्झना गराउन नियमित ब्रीफिङमा जानकारी दिनुभएको हो ।
उहाँका अनुसार, सन् २०१४ मा इटालीको लम्पेडुसा टापु नजिक ३६८ व्यक्तिको मृत्यु भएको थियो भने करिब ५०० अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गा पनि डुबेको थियो ।
संयुक्त राष्ट्रका एजेन्सीहरूले मध्य भूमध्य मार्गमा हरेक हप्ता औसत ४२ जनाको मृत्यु हुने र तीमध्ये प्रत्येक पाँचमा एक बालबालिका हुने तथ्यांक सार्वजनिक गरेका छन् ।
संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन, द्वन्द्व समाधान गर्न र सुरक्षित आप्रवासन प्रणाली सुदृढ गर्न आग्रह गरेको छ, साथै खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवश्यक रहेको बताएको छ ।