२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

दार्जिलिङ- उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भीषण वर्षासँगै आएको बाढी र पहिरोमा कम्तीमा २० जनाको ज्यान गएको छ। सांसद हर्षवर्धन शृङ्गलाले आइतबार जानकारी दिएका हुन्।

पश्चिम बङ्गाल राज्यको पहाडी क्षेत्रमा रातभर परेको करिब ३०० मिलिमिटर वर्षाले नदीहरूमा ठूलो भेल ल्याउँदा गाउँ र पूर्वाधारहरू डुबानमा परेका छन्। भेलले पुलहरू भत्काइदिएका छन् र सडकहरू ध्वस्त भएका छन्।

सांसद शृङ्गलाले भने, “गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीको ज्यान गएको छ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकारले नजिकबाट निगरानी गरिरहेको छ। ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि।”

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्।”

उनका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, सडकहरू क्षतिग्रस्त छन्, र ठूला क्षेत्रहरू डुबानमा परेका छन्।

दक्षिण एसियामा मनसुनका समयमा यस्ता घटना सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण हालका वर्षहरूमा बाढी र पहिरोका घटना अझ घातक र बारम्बार हुन थालेका छन्।