२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

इरानमा मुद्राबाट चार शून्य हटाउने योजना स्वीकृत

इरानमा मुद्राबाट चार शून्य हटाउने योजना स्वीकृत

तेहरान- इरानको संसद्ले राष्ट्रिय मुद्रा रियालबाट चार शून्य हटाउने ऐतिहासिक योजना स्वीकृत गरेको छ। यो निर्णय देशले नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्ध र तीव्र मुद्रास्फीति भोगिरहेको बेला आएको हो।

संसदीय आर्थिक आयोगले लेनदेनलाई सहज र व्यावहारिक बनाउन लामो समयदेखि रोकिएको प्रस्ताव पुनर्जीवित गरेपछि सांसदहरूले विधेयक पारित गरेका हुन्।

नयाँ योजनाअनुसार १० हजार पुराना रियाल बराबर एक नयाँ रियाल हुनेछ। पुराना र नयाँ नोटहरू तीन वर्षसम्म सँगै चल्नेछन्, र केन्द्रीय बैंकलाई रूपान्तरण प्रक्रिया सुरु गर्न दुई वर्षको समय दिइनेछ।

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू पुनः लागू भएपछि रियाल लगातार कमजोर भएको छ। आइतबारको कारोबारमा एक अमेरिकी डलर बराबर करिब ११ लाख १५ हजार रियाल पुगेको थियो, जुन गत अगस्टमा करिब नौ लाख २० हजार थियो।

रियाल पुनःनामाङ्कनको प्रस्ताव पहिलो पटक सन् २०१९ मा आएको भए पनि त्यसबेला स्थगित गरिएको थियो। अब यो योजना लागू हुन गार्डियन काउन्सिलको स्वीकृति र राष्ट्रपति मसुद पेजेस्कियानको हस्ताक्षर आवश्यक छ।

दैनिक जीवनमा इरानीहरू प्रायः रियालका शून्य घटाएर “टोमान” भन्ने शब्द प्रयोग गर्छन्, जसले कारोबारलाई सानो अंकमा गर्न सजिलो बनाउँछ।