हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
- २० अशोज २०८२
- १ मिनेटको पढाई
बेइजिङ- चिनियाँ राष्ट्रिय बिदाका बीच सगरमाथाको चिनियाँ भागमा भारी हिमपात हुँदा सयौँ पर्वतारोही फसेका छन्। करिब ३५० जना पर्वतारोही टिङ्गरी क्षेत्रमा एक ठाउँमा जम्मा छन् भने अझै २०० जनासँग उद्धार टोली सम्पर्कमा रहेको छ।
अघिल्ला रिपोर्टअनुसार उनीहरू ४,९०० मिटरभन्दा माथि फसेका छन्। बाटो हिउँले बन्द भएपछि धेरैका टेन्ट हिउँमा पुरिएका छन्। उद्धारकर्ताहरूले बाटो खाली गर्दै उनीहरूलाई तल झार्ने प्रयास गर्दै छन्।
हिम आँधी चीनभर फैलिँदै जाँदा किङ्घाई प्रान्तमा एक हाइकरको मृत्यु भएको र १३७ जनाको उद्धार गरिएको बताइएको छ। माउन्ट कोमोलङ्मा (सगरमाथा) चीन–नेपाल सीमामा पर्छ, जहाँ यसअघि पनि वर्षा र भूकम्पका कारण धेरैको ज्यान गइसकेको छ।