कायरो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको ‘गाजा शान्ति योजना’बारे ठोस सहमति खोज्ने उद्देश्यले इजरायल र हमासबीच इजिप्टको शर्म अल–शेख सहरमा सुरु भएको अप्रत्यक्ष वार्ता मङ्गलवार पनि जारी रहने भएको छ।
प्यालेस्टिनी र इजिप्टका अधिकारीहरूका अनुसार वार्ताको केन्द्रबिन्दु हमासको नियन्त्रणमा रहेका सबै इजरायली बन्धकको रिहाइका सट्टामा ठूलो संख्यामा प्यालेस्टिनी बन्दीहरू मुक्त गर्ने ‘आधार तयार गर्ने’ हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आगामी दिनहरूमा बन्धकहरूको रिहाइको घोषणा हुन सक्ने आशा व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ह्वाइट हाउसमा पत्रकारहरूसँग सम्झौतामा पुग्ने राम्रो मौका छ, र यो दीर्घकालीन हुन सक्छ, बताएका थिए।
हमासले अमेरिकी योजनाका केही प्रावधानहरूमा सहमति जनाए पनि उसको निरस्त्रीकरण र गाजामा भावी राजनीतिक भूमिकाबारे अझै प्रतिक्रिया नदिएको बताइएको छ।
इजिप्ट र कतारका अधिकारीहरूले मङ्गलवार दुवै पक्षसँग अलग-अलग रूपमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा हुँदै गर्दा वार्ता सुरु भएको हो। उक्त हमलामा झण्डै १,२०० जना मारिएका र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही थालेको थियो। गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता १८ हजार बालबालिकासहित ६७,१६० जनाको मृत्यु भइसकेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले ट्रम्पको शान्ति योजनाले “सङ्घर्ष अन्त्यका लागि अवसर प्रदान गरेको” भन्दै सबै पक्षलाई सो मौका उपयोग गर्न आग्रह गरेका छन्। बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले पनि अमेरिकाको मध्यपूर्व शान्ति प्रयासको स्वागत गरेका छन्।
एक इजरायली सुरक्षा स्रोतका अनुसार प्रारम्भिक वार्ता बन्धकहरूको रिहाइमा केन्द्रित हुनेछ र उक्त प्रक्रिया सम्पन्न गर्न हमासलाई केही दिन समय दिइनेछ।
अमेरिकी विशेष दूत स्टीभ विट्कफ, ट्रम्पका ज्वाइँ जेरड कुश्नर, र कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी पनि वार्तामा सहभागी छन्।
ट्रम्प र नेतन्याहूबीच सहमति भएको बीसबुँदे योजनामा तत्काल युद्धविराम, सयौँ प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा ४८ इजरायली बन्धकको मुक्त गरिने प्रस्ताव, र गाजा स्ट्रिपमा तत्काल मानवीय सहायता पठाउने प्रावधान छन्।
उक्त योजनाले गाजाको शासनमा हमासको भूमिका नहुने र भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावना खुला रहने उल्लेख गरेको छ। तर नेतन्याहूले भने आफ्नो अडान दोहोर्याउँदै भनेका छन्, सम्झौतामा प्यालेस्टिनी राज्यको कुरा छैन। हामी त्यसका कडा विरोधी हौँ।
हमासले भने बन्दी साटफेरका सर्त पूरा भएमा सबै जीवित र मृत इजरायली बन्धक मुक्त गर्न तयार रहेको जनाएको छ। संगठनले गाजाको भविष्य र प्यालेस्टिनी अधिकारका विषयमा राष्ट्रिय ढाँचामा छलफल भइरहेको र आफू पनि त्यसमा संलग्न रहेको जनाएको छ।
वार्ता सुरु हुनु अघिसम्म पनि गाजा सहरमा इजरायली बमबारी जारी थियो। गत २४ घण्टामा मात्र २१ प्यालेस्टिनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।