न्युयोर्क – गाजामा इजरायल र हमासबीच भएको सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ। युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजामा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको जनाएको छ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा फर्किँदै छन्। दक्षिण कमाण्डअन्तर्गतका फौज अझै पनि क्षेत्रमा छन् र तत्कालीन खतरा हटाउने काम जारी छ।”
अमेरिकी मध्यस्थतामा भएको यो सम्झौताअनुसार, हमासको नियन्त्रणमा रहेका बन्दीहरूलाई रिहा गर्न ७२ घण्टे समय सुरु भएको छ। पहिलो चरणमा इजरायलले झन्डै २ हजार प्यालेस्टिनी कैदी र बन्दीलाई रिहा गर्ने बताइएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भने, “हाम्रा सैनिकहरू अझै पनि गाजाको भीत्रि भागमा रहनेछन् र नियन्त्रणका क्षेत्रमा दबाब कायम राख्नेछन्। यो सम्झौताका अर्को चरणका लागि तयारी भइरहेछ।”
उनका अनुसार, आगामी चरणमा २० जना जीवित बन्दी रिहा हुनेछन् र २८ जनाका शव हस्तान्तरण गरिनेछ। उनले थपे, “हमासलाई निशस्त्र पार्ने र गाजालाई सैन्यरहित क्षेत्र बनाउने हाम्रो लक्ष्य हो। यदि सजिलो तरिकाले सम्भव भएन भने कठिन बाटो अपनाइनेछ।”
हमास–नियन्त्रित प्रशासनले पनि युद्धविराम लागू भएपछि इजरायली सेनाले छोडेका क्षेत्रमा आफ्ना सुरक्षाबल तैनाथ गर्ने जनाएको छ। उनीहरूले भनेका छन्, “यो तैनाथी सार्वजनिक शान्ति पुनःस्थापना गर्न र युद्धले सिर्जना गरेको अव्यवस्था नियन्त्रण गर्न गरिएको हो।”
हमास प्रशासनले प्यालेस्टिनी जनतालाई युद्ध अन्त्य भएकोमा बधाई दिँदै सुरक्षाबलसँग सहयोग गर्न र निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
हमास–नियन्त्रित गाजा मिडिया अफिसका अनुसार, इजरायली आक्रमणका क्रममा पछिल्ला दुई वर्षमा ६७० भन्दा बढी विद्यालय ध्वस्त भएका छन्, जसमा करिब १३ हजार ५०० विद्यार्थीको मृत्यु भएको छ।
त्यसैगरी, ६०० दिनभन्दा बढी समयदेखि सीमा नाका बन्द हुँदा सहायता आपूर्ति रोकिएको छ र करिब २० लाख प्यालेस्टिनी जबरजस्ती विस्थापित भएका छन्। प्रारम्भिक अनुमान अनुसार गाजाको आर्थिक क्षेत्रहरूमा करिब ७० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको छ।
शुक्रबार हमास र अन्य दुई फिलिस्तीनी समूहले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामाथि कुनै पनि “विदेशी संरक्षकत्व” अस्वीकार गरेका छन्। उनीहरूले गाजाको शासन पूर्ण रूपमा आन्तरिक प्यालेस्टिनी विषय भएको स्पष्ट पारेका छन्।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ अक्टोबर ७ देखि हालसम्म इजरायली आक्रमणमा ६७ हजार २११ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६९ हजार ९६१ जना घाइते भएका छन्।
तीन दिनको वार्तापछि मिस्र, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा बिहीबार युद्धविराम सम्झौता भएको थियो। सम्झौताका पहिलो चरणमा इजरायली फौज गाजा सिटी, उत्तर गाजा, राफा र खान युनिस क्षेत्रबाट फिर्ता हुने, पाँचवटा सीमा नाका मानवीय सहायता प्रवेशका लागि खोलिने, र बन्दी तथा कैदीहरूको अदलाबदल हुने व्यवस्था गरिएको छ।