पूर्व जापानी प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
टोकियो – जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। जापानी अधिकारीहरूका अनुसार उनको मृत्यु ओइटा सहरस्थित अस्पतालमा बुढ्यौलीका कारण भएको हो।
मुरयामा जापानका ती नेतामध्ये एक हुनुहुन्थ्यो जसले दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे “गहिरो पश्चाताप” व्यक्त गरेका थिए। उनको सन् १९९५ को ऐतिहासिक वक्तव्य अहिले पनि जापानी राजनीतिको नैतिक सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
सोसल डेमोक्रेटिक पार्टीकी नेतृ मिजुहो फुकुसिमाले एक्समार्फत लेखेकी छन्, “जापानी राजनीतिको पिता तोमिची मुरयामाको आज बिहान ११:२८ बजे ओइटा सिटीकै अस्पतालमा निधन भएको छ।”
मुरयामाको सन् १९९५ को प्रसिद्ध वक्तव्यमा उनले भनेका थिए, “जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामक कार्यका कारण धेरै देशका नागरिकहरूलाई ठूलो पीडा र क्षति पुर्यायो। भविष्यमा यस्तो गल्ती नदोहोरियोस् भनेर म गहिरो नम्रता र पश्चातापका साथ ती ऐतिहासिक सत्यहरूलाई सम्मान गर्दछु र हार्दिक माफी माग्छु।”
त्यो वक्तव्य पछि आएका प्रधानमन्त्रीहरूले पनि ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ भन्ने शब्द दोहोर्याउँदै मुरयामाको भावनालाई निरन्तरता दिएका छन्।
मुरयामा जापानको युद्धपछिको शक्तिशाली पार्टी लिबरल डेमोक्रेटिक पार्टीसहितको गठबन्धन सरकारको नेतृत्व गर्न सफल भएका थिए। उनी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहेका थिए।
उनको कार्यकाल निकै चुनौतीपूर्ण रह्यो – सन् १९९५ मा पश्चिमी जापानमा ठूलो भूकम्प आयो र टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा धेरैले ज्यान गुमाए।
विश्वविद्यालयमा पढ्दै गर्दा उन १९४४ मा जापानी शाही सेनामा भर्ती भएका थिए। पछि उनले स्मरण गर्दै भनेका थिए, “सेना डरलाग्दो थियो, त्यहाँ तर्क वा विरोध गर्ने अनुमति नै थिएन।”
तोमिची मुरयामा जापानको राजनीतिक इतिहासमा एक फरक पहिचान भएका नेता थिए – नम्र, आत्मआलोचक र मानवताको पक्षमा दृढ। उनको निधनसँगै जापानी राजनीतिमा एउटा युगको अन्त्य भएको अनुभूति गरिएको छ।