इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरिएको हमासद्वारा पुष्टि
- ०१ कार्तिक २०८२
- १ मिनेटको पढाई
प्यालेस्टिनी क्षेत्र- इजरायलले शनिबार थप १५ जना प्यालेस्टिनीको शव गाजामा फिर्ता गरेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म इजरायलले फिर्ता गरेका शवको संख्या १३५ पुगेको छ।
यो प्रक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार अघि बढाइएको हो। उक्त सम्झौतामा प्रत्येक मृतक इजरायलीका सट्टा १५ जना प्यालेस्टिनीको शव फिर्ता गरिने सहमति भएको थियो।
शुक्रबार राति हमासले एक इजरायली बन्धकको शव फिर्ता गरेको थियो। युद्धविराम सुरु भएयता हमासले नौ जना इजरायली र एक जना नेपाली विद्यार्थीको शव बुझाइसकेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार फिर्ता गरिएका केही शवमा कुटपिट, हथकडी, आँखामा पट्टी र यातनाका संकेत देखिएको दाबी गरेको छ। मन्त्रालयले यसअघि फिर्ता भएका शवहरूमा पनि यस्तै व्यवहार भएको आरोप लगाएको थियो।
तर, इजरायली सेनाले यी सबै आरोप अस्वीकार गर्दै भनेको छ, “अहिलेसम्म फिर्ता गरिएका शवहरू गाजाका लडाकुहरूका हुन्। हमासले गलत प्रचार गरिरहेको छ।”