२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

अमेरिकी राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

अमेरिकी राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

प्योङयाङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरिया भ्रमण नजिकिँदै गर्दा उत्तर कोरियाले बुधबार बिहान छोटो दूरीका धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार प्योङयाङ नजिकैबाट बिहान करिब ८ः१० बजे ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइल’ दागिएको थियो। ती क्षेप्यास्त्र करिब ३५० किलोमिटर दूरीमा उडेका बताइएको छ।

यो प्रक्षेपण दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जेम्युङले पदभार सम्हालेपछि पहिलो पटक भएको हो। त्यहीबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङउनसँग सम्भावित भेटबारे संकेत गरेका छन्।

उत्तर कोरियाको सरकारी मिडियाले किमले “संवादका ढोका खुला रहेको” जनाउँदै अमेरिकालाई “आणविक हतियार त्याग्न दबाब नदिन” चेतावनी दिएको जनाएको छ।

यसअघि प्योङयाङले रुस र चीनका शीर्ष अधिकारीहरू अगाडि ‘ह्वासोङ२०’ नामक आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको थियो।

सियोलका सुरक्षा विश्लेषक पार्क वोनगोनका अनुसार, “किम जोङउनले ट्रम्पको भ्रमणलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा प्रयोग गर्न खोजेका हुन्।”

ट्रम्प आगामी अक्टोबर २९ मा दक्षिण कोरियामा हुने एपेक सम्मेलनमा सहभागी हुने तय छ।