पुटिनले आफ्नो आक्रामकताको मूल्य तिर्नै पर्छ : बेलायती प्रधानमन्त्री
- ०६ कार्तिक २०८२
- १ मिनेटको पढाई
लन्डन- बेलायती प्रधानमन्त्री केरी स्टार्मरले अमेरिकाले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकोइलमाथि कडा प्रतिबन्ध लगाएको स्वागत गरेका छन्। उनले भने, “पुटिनको अनावश्यक आक्रामकता अब रोकिनै पर्छ, यो युद्धको अन्त्य हुनै पर्छ।”
गत हप्ता बेलायतले पनि रुसको तेल उद्योगमाथि करिब ९० नयाँ प्रतिबन्ध लगाएको थियो। त्यसको केही दिनमै अमेरिकाले पनि ती नै कम्पनीहरूलाई निशाना बनाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो महासचिव मार्क रुटसँगको भेटमा भने, “यी प्रतिबन्धहरू ठूला र प्रभावकारी छन्। यसले युद्ध रोक्न मद्दत गर्नेछ भन्ने आशा छ।”
नयाँ प्रतिबन्धपछि रोजनेफ्ट र लुकोइलका सम्पत्ति अमेरिकामा फ्रिज भएका छन्। अमेरिकी नागरिक र कम्पनीलाई तिनीसँग कारोबार गर्न रोक लगाइएको छ।
प्रधानमन्त्री स्टार्मरले भने, “अहिले अन्तर्राष्ट्रिय समुदायले एउटै आवाजमा बोल्नुपर्छ। जबसम्म पुटिनले आफ्नो युद्धको मूल्य तिर्ँदैनन्, युक्रेनमा शान्ति सम्भव छैन।”