२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

दक्षिण भारतमा बसमा आगलागी, कम्तीमा २५ जनाको मृत्यु

दक्षिण भारतमा बसमा आगलागी, कम्तीमा २५ जनाको मृत्यु

भारत- हैदराबादबाट बेङ्गलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान आन्ध्र प्रदेशको कुर्नुल नजिक राजमार्गमा दुर्घटना भएको भारतीय प्रहरीले जानकारी दिएका छन्। तेलङ्गानाको हैदराबादबाट कर्नाटकतर्फ जाँदै गरेको बसलाई पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

बसमा ४४ जना यात्रु रहेका थिए। मोटरसाइकल ठोक्किएपछि इन्धन ट्याङ्कीमा चर्को आगो लागेको र केही मिनेटमै बसभरि फैलिएको अधिकारीहरूले बताए। दुर्घटनाका समयमा धेरै यात्रु सुतिरहेका थिए। कसैले झ्याल फोडेर बाहिर निस्किन सके, तर धेरैजनाको उद्धार हुनुअघि नै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको पनि निधन भएको पुष्टि गरिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको छ। फरेन्सिक टोलीले घटनास्थलबाट अनुसन्धान सुरु गरेको छ। यो घटनाले भारतमा यातायात सुरक्षाप्रति फेरि प्रश्न उठाएको छ।

दुई हप्ताअघि मात्र राजस्थानमा भएको बस आगलागीमा पनि २० जनाको ज्यान गएको थियो।