२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षमा निधन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षमा निधन

बैङ्कक- थाइल्यान्डकी मुमा महारानी र राजा महा भाजिरालोङ्कोर्नकी आमा सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। सरकारी जनसम्पर्क विभागले दिएको जानकारीअनुसार केही समयदेखि रगत सङ्क्रमणको उपचार गराइरहेका उनी अक्टोबर २४ राति बैङ्ककमा निधन भएकाे हाे।

सिरिकितको जन्म १९३२, अगस्ट १२ मा भएको थियो। थाइल्यान्डमा त्यो दिनलाई मातृ दिवसको रूपमा मनाइन्छ।

१८ वर्षको उमेरमा उनले राजा भूमिबोल अदुल्यादेज (राम ९)सँग विवाह गरेकी थिइन्। राजा भूमिबोलको शासन विश्वकै अत्यन्त लामो शासनकालमध्ये एक थियो। सिरिकित पनि लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहिन्।

सन् २०१६ मा राजा भूमिबोलको निधनपछि उनका छोरा भाजिरालोङ्कोर्न राजा बने। सिरिकित २०१२ मा स्ट्रोक आएपछि सार्वजनिक रूपमा कमै देखिन्थिन्।

जीवनभर उनले ग्रामीण महिलाको रोजगारी, परम्परागत हस्तकला र सामाजिक–मानवीय काममा ठूलो योगदान दिइन्। विशेषगरी ‘सपोर्ट फाउन्डेसन’मार्फत हजारौँ महिलालाई आत्मनिर्भर बन्न सहयोग गरिन्।

उनी फेसन र शालीनताका कारण अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित थिइन्। १९६० को दशकमा चार पटक बेस्ट–ड्रेस्ड सूचीमा परेकी उनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले “विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्वमध्ये एक” भनेर सम्मानित गरेको थियो।

उनका एक छोरा र तीन छोरी, साथै एक बहिनी छन्। महारानीको निधनपछि थाइल्यान्डमा राष्ट्रव्यापी शोक घोषणा गरिएको छ।