जापानका पूर्व प्रधानमन्त्री आबे हत्या प्रकरण : यामागामीमाथि सुनुवाइ सुरु
- ११ कार्तिक २०८२
- १ मिनेटको पढाई
टोकियो – जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे हत्या अभियोगमा मङ्गलबारदेखि टोकियोमा अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ।
अभियुक्त तेत्सुया यामागामीमाथि सन् २०२२ मा नारा सहरमा घरेलु हतियार प्रयोग गरी आबेको हत्या गरेको आरोप छ।
अदालतमा उपस्थित यामागामीले आफू दोषी रहेको स्वीकार गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
उनका अनुसार, आक्रमण आबेमाथि होइन, युनिफिकेसन चर्चप्रति रहेको आक्रोशको परिणाम थियो। त्यो चर्चसँग आबेको निकटता रहेको विश्वास उनले गरेका थिए।
उनको परिवारले चर्चलाई गरेको अधिक आर्थिक अनुदानका कारण आर्थिक संकट परेपछि उनी प्रतिशोधी बनेको बताइएको छ।
यो मुद्दा जापानको युद्धपछिको सबैभन्दा चर्चित राजनीतिक घटना मध्ये एक मानिएको छ।
सुनुवाइ डिसेम्बरको मध्यसम्म टुङ्गिने अपेक्षा गरिएको छ।