२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

क्याटागोरी–५ चक्रबात ‘मेलिसा’ : जमैकामा भूकम्पसरह त्रास, व्यापक क्षतिको चेतावनी

क्याटागोरी–५ चक्रबात ‘मेलिसा’ : जमैकामा भूकम्पसरह त्रास, व्यापक क्षतिको चेतावनी

जमाइका – ऐतिहासिक रूपमा सबैभन्दा शक्तिशाली मानिएको हरिकेन मेलिसा मंगलबार बिहान वा दिउँसो क्याटागोरी–५ का शक्तिशाली हावासहित जमैकामा स्थल प्रवेश गर्न लागेको छ। झण्डै १७५ माइल प्रति घण्टा (२८० किमी/घण्टा) वेगका कारण घरहरू समेत भत्किन सक्ने चेतावनी जारी गरिएको छ।

९०१ मिलिबार दबाबसहित आएको यो चक्रवातको शक्ति २००५ को क्याट्रिना भन्दा पनि शक्तिशाली मापन गरिएको मौसमविद्हरूले जनाएका छन्। विशेषज्ञहरूका अनुसार ९ देखि १३ फिट सम्मको समुद्री छाल, १५ देखि ३० इन्च वर्षा र भूस्खलनको उच्च जोखिम रहनेछ।

सरकारले किङ्सटन एवं आसपासका उच्च जोखिम क्षेत्रहरूमा अनिवार्य उद्धार आदेश जारी गरेको छ। तर स्थानीय अधिकारीहरूले सबैले आदेश नमानेको बताइरहेका छन्।

मेलिसा अहिले जमैकाको नेग्रिलभन्दा करिब ५५ माइल दक्षिण–दक्षिणपूर्वमा देखिएको छ र विस्तारै उत्तर–पूर्वतर्फ उन्मुख भइरहेको छ। पूर्वानुमान अनुसार चक्रवात जमैका पार गरिसकेपछि दक्षिण–पूर्वी क्युबा हुँदै बहामासतर्फ जान्छ।

सुरक्षा उपायस्वरूप पूर्वी क्युबा, बहामास र टर्क्स एण्ड कैकोसमा पनि चेतावनी जारी छ। जमैकामा विद्युत् सेवा अवरुद्ध, बाढी र ठूला उद्धार–राहत चुनौतीहरू आउन सक्ने अधिकारीहरूको भनाइ छ।

यसैबीच, मौसमविद्हरूले यो वर्ष पहिले नै तीनवटा क्याटागोरी–५ चक्रवात देखा परेकाले अटलान्टिक हरिकेन सिजन निकै सक्रिय र जोखिमपूर्ण रहेको बताएका छन्।

अमेरिकी पूर्वी तटमा भने यसले सीधा प्रभाव पार्ने सम्भावना छैन। तर जमैका र वरपरका क्षेत्रका नागरिकहरू अहिल्यैदेखि ज्यान जोगाउने उच्च सतर्कता अपनाइरहेका छन्।