हरिकेन मेलिसाबाट करिब ३० जनाको मृत्यु, केरिबियन टापुहरूमा मानवीय सङ्कट
- १३ कार्तिक २०८२
- २ मिनेटको पढाई
किङ्स्टन- इतिहासकै शक्तिशाली आँधीका रूपमा दर्ज भएको हरिकेन मेलिसाले केरिबियन क्षेत्रमा विनाश मच्चाउँदै कम्तीमा ३० जनाको ज्यान लिएको छ। जमैकामा मात्र सात जनाको मृत्यु भएको छ भने बाँकी क्युबा, डोमिनिकन रिपब्लिक र हैटीमा भएको जनाइएको छ।
बुधबार रातिसम्म १८५ माइल प्रतिघण्टासम्मको हावा वेगका साथ आएको मेलिसाले जमैकाभर बत्ती र संचार सेवा ठप्प पार्यो। सडकमा ठूला रुख ढलेका छन्, बत्तीका खम्बा भत्किएका छन् र सयौँ घर बाढीले बगाएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) ले क्षतिको स्तरलाई “अगावेसम्म कहिल्यै नदेखिएको” बताएको छ।
क्युबामा करिब ७ लाख ३५ हजार मानिसले सुरक्षित स्थलमा रात बिताएका थिए। त्यहाँ पनि सयौँ घर भत्किएका र सडक अबरुद्ध भएका खबर आएका छन्।
हाल आँधी कमजोर हुँदै बहामास र बर्मुडा तर्फ अघि बढिरहेको छ। हाल यसले १०० माइल प्रतिघण्टाको वेग लिएको छ, तर अझै पनि विनाशकारी ‘क्याटेगोरी २’ आँधीको रूपमा रहँदैछ।
जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसले क्षतिग्रस्त क्षेत्र सेंट जेम्स पुगेर अवलोकन गरेका छन्। “जमैकाली आत्मा फेरि चम्किनेछ, हामी यो विपत्तिबाट पनि उठ्नेछौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
अहिले करिब ४ लाखभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले बार्बाडोसबाट २,००० आपतकालीन खाद्यान्न बक्स पठाउन तयारी गरेको छ भने अमेरिकी रेडक्रसले आपतकालीन एम्बुलेन्स सञ्चालन थालेको छ।
अमेरिकी गैर–सरकारी संस्था प्रोजेक्ट डायनामो ले ३,००० पाउन्डभन्दा बढी राहत सामग्री – पानी शुद्धीकरण उपकरणदेखि औषधिसम्म – हवाई मार्गबाट पठाउँदैछ।
तर अमेरिकी अधिकारीहरूले भने राहत टोली पठाउन ढिलाइ भएको स्वीकार गरेका छन्। सरकारले USAID हटाएको र सरकारी शटडाउनका कारण DART टोली ढिलो पुगेको बताइएको छ।
संयुक्त राष्ट्रसंघका स्थानीय संयोजक डेनिस जुलुले भने, “पूरै टापु प्रभावित छ, पुनःस्थापनामा महिनौँ लाग्छ।”
जमैकाले आधिकारिक रूपमा ‘हरिकेन मेलिसा राहत कोष’ मार्फत विश्वभरबाट सहयोग मागेको छ।