सुडानको एल–फासेरमा नरसंहार, रगतले रङ्गिएको मरुभूमि अन्तरिक्षबाटै देखिने
- १५ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सुडानको पश्चिमी क्षेत्रमा रहेको एल–फासेर सहरमा यति ठूलो संहार भइरहेको छ कि त्यसको रगतले रङ्गिएको बालुवामाथिको दाग अन्तरिक्षबाटै देखिने भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन्।
अहिलेसम्म करिब अढाई लाख मानिस घेेराबन्दीमा रहेका उक्त सहरमा पछिल्ला दिनहरूमा तीव्र गोलाबारी र हिंसात्मक गतिविधि बढेपछि विशेषज्ञहरूले हजारौँको ज्यान गएको अनुमान गरेका छन्। पारा–सैनिक संगठन र्यापिड सपोर्ट फोर्सेसका लडाकूहरूले सहर कब्जा गरेपछि व्यापक हत्या, बलात्कार र अत्याचार गरिएको जनाइएको छ।
उपग्रह चित्रहरू र सामाजिक सञ्जालमा आएको भिडियोहरूले नरसंहारको भयावहता उजागर गरेका छन्। भिडिओमा जलेका गाडीहरू, सयौँ लासहरू र RSF लडाकूहरूलाई देख्न सकिन्छ। केही भिडियोमा उनीहरूलाई हामीले तिनीहरूलाई समाप्त गर्यौं भन्दै गर्वका साथ बोल्दै देखिएको छ।
याले विश्वविद्यालयको ह्युमानिटेरियन रिसर्च ल्याबका निर्देशक नाथानियल रेमण्डका अनुसार, “हामीले उपग्रह चित्रमा देखेका दृश्यहरू रवान्डाको नरसंहारसँग तुलना गर्न सकिने खालका छन्। सहरका सडकमा रगतका पोखरी र लासका थुप्रा देखिन्छन्।”
सङ्घर्ष गत वर्ष अप्रिलमा सुरु भएको हो, जब सुडानी सेना प्रमुख जनरल अब्देल फत्ताह बुर्हान र उनका पूर्व सहायक मोहम्मद हमदान दागालो (हेमेद्ती) बीच सत्ताको संघर्ष चर्कियो। अब, RSF ले डारफुर क्षेत्रमा पुनः नरसंहार गरिरहेको मानवअधिकार संस्थाहरूको आरोप छ।
संयुक्त राष्ट्रसंघका अनुसार, हालसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको र करिब १ करोड ४० लाख मानिस विस्थापित भएका छन्। राहत संस्था इन्टरनेशनल रेस्क्यू कमिटीले एल–फासेरबाट भाग्न सफल भएका मानिसहरूको संख्या अत्यन्त न्यून रहेको बताएको छ।
RSF ले पछिल्लो भिडियो सन्देशमा आफ्ना सैनिकहरूद्वारा भएका उल्लङ्घन माथि छानबिन सुरु गरेको दाबी गरे पनि, विशेषज्ञहरूका अनुसार समूह अझै पनि डारफुरको अन्तिम विनाशको अभियानमा छ।