अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु, तीन सयभन्दा बढी घाइते
- १७ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- उत्तरी अफगानिस्तानमा सोमबार आएको ६.३ म्याग्निच्युडको भूकम्पले कम्तीमा २० जनाको ज्यान लिएको छ र ३२० जना घाइते भएका छन्। भूकम्प मजार–ए–सरिफ सहर नजिकै करिब २८ किलोमिटर गहिराइमा गएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बल्ख र समङ्गान प्रान्तमा बढी क्षति भएको बताए। स्थानीय बासिन्दा डरले सडकमा निस्किएका थिए, र काबुलसम्म कम्पन महसुस गरिएको थियो।
पहाडी भूगोल र कमजोर सञ्चारका कारण उद्धार कार्यमा समस्या भइरहेको जनाइएको छ। तालिबान सत्तामा आएपछि यो चौथो ठूलाे भूकम्प हो।
यसअघि सन् २०२३ मा हेरातमा, २०२२ मा नङ्गरहारमा र अगस्टमा पूर्वी भागमा गएको भूकम्पले हजारौंको ज्यान लिएको थियो। अहिले पनि देश खडेरी, आर्थिक प्रतिबन्ध र शरणार्थी फर्किएकाले गम्भीर मानवीय सङ्कटमा छ।