२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

उत्तर कोरियाको चेतावनी : ‘थप आक्रामक कारबाही’को तयारी

उत्तर कोरियाको चेतावनी : ‘थप आक्रामक कारबाही’को तयारी

प्योङयाङ- पछिल्लो ब्यालेस्टिक मिसाइल परीक्षणपछि अमेरिकासहित दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ।

शुक्रबार गरिएको मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो। ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको केही दिनमै प्योङयाङले यस्तो कदम चाल्यो।

उत्तर कोरियाका रक्षामन्त्री नो क्वाङ चोलले वासिङ्टनले “उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधि गरिरहेको” आरोप लगाउँदै भने, “हामी शत्रुहरूको निरन्तर खतरा विरुद्ध अझ आक्रामक कदमहरू चाल्नेछौँ।”

यसअघि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) भ्रमण गरेका थिए। दुवैले आफ्नो देशबीचको संयुक्त रक्षा प्रतिबद्धता पुनः पुष्टि गरे। त्यसैबीच, अमेरिकी आणविक विमानवाहक युएसएस जर्ज वासिङ्टन दक्षिण कोरियाको बुसान बन्दरगाह पुगेपछि प्योङयाङले त्यसलाई “तनाव बढाउने कदम” भनेर आपत्ति जनाएको छ।

अमेरिकी इन्डो- प्यासिफिक कमान्डले भने प्योङयाङको कार्यले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने बताउँदै सहयोगी राष्ट्रहरूसँग सुरक्षा प्रतिबद्धता कायम रहेको स्पष्ट गरेको छ। विश्लेषकहरूका अनुसार दक्षिण कोरियाको नयाँ आणविक पनडुब्बी योजना र उत्तरको चेतावनीबीचको तनावले क्षेत्रीय अस्थिरता अझ बढाउन सक्छ।