२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इन्डोनेसियामा विमान दुर्घटना: ११ जनाको अवस्था अज्ञात, पहाडमा भेटियो भग्नावशेष

इन्डोनेसियामा विमान दुर्घटना: ११ जनाको अवस्था अज्ञात, पहाडमा भेटियो भग्नावशेष

इन्डोनेसिया- इन्डोनेसियामा आइतबार ११ जना सवार एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएपछि पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। ‘इन्डोनेसिया एयर ट्रान्सपोर्ट’ को टर्बोप्लेन योग्याकार्ताबाट मकासारका लागि उडेको केही समयमै राडारबाट हराएको थियो। विमानमा चालक दलका ८ सदस्य र ३ जना सरकारी कर्मचारी सवार थिए।

दक्षिण सुलावेसीको माउन्ट बुलुसाराउङमा रहेका पदयात्रीहरूले पहाडको बीचमा विमानको भग्नावशेष छरिएको र आगो बलिरहेको देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए। इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सी ‘बसारनास’ ले उक्त क्षेत्रमा २५ जनाको टोली परिचालन गरेको छ। समुद्री मामिला मन्त्रालयका अनुसार विमानमा सवार तीनै जना यात्रु मत्स्यपालन व्यवस्थापनको विशेष मिसनमा निस्किएका कर्मचारीहरू हुन्। दुर्गम पहाडी भूभाग भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न र सवार व्यक्तिहरूको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।