२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

जर्सी सिटीको गहना पसलमा लुटपाट: ५ मिनेटमै डेढ मिलियन डलरको क्षति

जर्सी सिटीको गहना पसलमा लुटपाट: ५ मिनेटमै डेढ मिलियन डलरको क्षति

न्युयोर्क- अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटीमा एक गहना पसलमा फिल्मी शैलीमा “स्म्यास-एन्ड-ग्र्याब” (झ्याल फुटाएर लुट्ने) लुटपाट भएको छ। मास्क लगाएका कम्तीमा चार जनाको समूहले वेस्ट साइड एभिन्यूमा रहेको ‘गुस्ताभो ओरो १४के’ (Gustavo Oro 14k) नामक पसलबाट मात्र पाँच मिनेटभित्र १५ लाख डलर (करिब १९ करोड नेपाली रुपैयाँ) बराबरको गहना लुटेर फरार भएका छन्।

पसलका मालिक गुस्ताभो सान्चेजका अनुसार लुटेराहरूले ठुला हथौडा प्रयोग गरी पसलको अगाडिको सिसा फुटाएर भित्र छिरेका थिए। सिसिटिभी फुटेजमा देखिए अनुसार, भित्र पसेपछि उनीहरूले गहनाका सोकेशहरू फुटाउँदै १४ क्यारेट सुन, हीरा र १८ क्यारेट सुनका सबै गहनाहरू हात पारेका थिए।

“मैले पाँच वर्ष लगाएर जे जति कमाएको थिएँ, त्यो सबै पाँच मिनेटमै गायब भयो,” पीडित सान्चेजले दुख व्यक्त गर्दै भने। पसलभित्र अहिले फुटेका सिसाका टुक्रा र खाली सोकेशहरू मात्र बाँकी छन्। स्थानीय प्रहरीले भिडियो फुटेजका आधारमा लुटेराहरूको खोजी गरिरहेको छ भने यो घटनाले जर्सी सिटीका व्यवसायीहरूमा त्रास फैलाएको छ।